हेटौँडा । १३ वर्षीया बालिकालाई विवाहको प्रलोभनमा पारेर हेटौंडाका विभिन्न होटलमा लैजाँदै यौन शोषण तथा जबर्जस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न भनिएका दुई जना भने फरार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा हेटौँडा क्षेत्रमा बसोबास गर्ने २० वर्षीय मनिष बुढाथोकी रहेका छन्। घटनामा संलग्न भनिएका हेटौँडा–१० टिसिएनमा डेरा गरी बस्ने ३० वर्षीय सूर्य लामा र मनहरी गाउँपालिका–९ रजैयाका ३५ वर्षीय राम बिसुन्के फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरीमा परेको जाहेरीअनुसार बालिकासँग सामाजिक सञ्जाल तथा फोनमार्फत सम्पर्क गरी हेटौँडा–१० स्थित कोठामा लगेर राखिएको र विभिन्न होटलमा काम लगाइदिने प्रलोभन देखाउँदै अन्यत्र समेत लैजाने गरिएको आरोप छ। प्रहरीका अनुसार भदौ २९ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले बालिकालाई बेवारिसे अवस्थामा फेला पारी उद्धार गरेको थियो। घटनाबारे असोज ८ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी परेको र सोही घटनाको अनुसन्धानका क्रममा असोज ९ गते बुढाथोकीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
फरार रहेका दुई जनाको खोजी भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
उद्धार गरिएकी बालिका हाल माइती नेपालको संरक्षणमा रहेकी छन्। पीडित बालिकाको न्यायका लागि माइती नेपालले आवश्यक पहल गरिरहेको जनाइएको छ।

