Search
Close this search box.

हेटौँडा–१५ मा वडास्तरीय स्नूकर च्याम्पियनसिप सुरु

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ ले वडास्तरीय स्नूकर च्याम्पियनसिप सुरु गरेको छ। सोमबार आयोजित प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका पूर्वमन्त्री एकालाल श्रेष्ठले गरेका हुन्।

उद्घाटन कार्यक्रममा श्रेष्ठले जीविकोपार्जनसँगै खेलकुदप्रतिको युवाको आकर्षण बढ्दै गएको उल्लेख गर्दै खेल क्षेत्रले युवा सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। युवालाई दुर्व्यसनबाट जोगाउन खेलकुदमा जोड्नुपर्ने उनको भनाइ थियो।

‘खेलले जीवनलाई अनुशासित र सभ्य बनाउन महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने।

हेटौँडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानले खेलकुदले व्यक्तिलाई स्थानीयस्तरमा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत पहिचान दिलाउने बताए। गत भदौ १० गते रसुवा जिल्लामा आएको बाढीमा परी ज्यान गुमाएका हेटौँडा–१५ का युवा सुमन गोले र रमेश थापा मगरको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए।
मंसिर ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा हेटौँडा–१५ का १८ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले १५ हजार रुपैयाँ र ट्रफी पाउनेछन्।
त्यस्तै, सेमिफाइनलमा पुग्ने दुई खेलाडी र उत्कृष्ट एक खेलाडीलाई प्रोत्साहनस्वरूप जनही ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
उद्घाटन कार्यक्रममा वडास्तरीय खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगी, मकवानपुरका राष्ट्रिय स्नूकर खेलाडी नितेश खण्डवाललगायतको उपस्थिति थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan