मकवानपुर । हेटौँडा–काठमाडौं जोड्ने वैकल्पिक सडकखण्डमा दुर्घटनाको जोखिम बढ्दै गएपछि मकवानपुर प्रशासनले यात्रुवाहक सार्वजनिक सवारीसाधन सञ्चालनमा समयसीमा निर्धारण गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार हेटौँडाबाट भैँसे–भीमफेदी–कुलेखानी हुँदै फाखेल वा सिस्नेरीमार्ग भएर काठमाडौं जाने सार्वजनिक सवारीसाधनले साँझ ५ः३० बजेभित्र चौकीटोल र ६ बजेभित्र भैँसे प्रहरी चेकपोस्ट पार गरिसक्नुपर्नेछ । बिहान ५ बजेपछि मात्रै भैँसेबाट उक्त रुटमा सवारी सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै नयाँ समयतालिका लागू गरेको हो । साथै, सवारीसाधनको यान्त्रिक अवस्था जाँच गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिइएको छ ।
उक्त सडकखण्डमा पर्ने प्रहरी इकाइहरूले ट्राफिक प्रहरीसँगको समन्वयमा भाडाका तथा यात्रुवाहक सवारीसाधनको अनिवार्य जाँच गर्ने व्यवस्था मिलाइएको छ ।
प्रशासनका अनुसार साँघुरो सडक, तीव्र गति, चालकको लापरबाही, सडकको कमजोर अवस्था, रातिको कम दृश्यता र चालकको थकान दुर्घटनाका प्रमुख जोखिम हुन् । यात्रुवाहक सवारीसाधनको सुरक्षित सञ्चालन र मानवीय क्षति न्यूनीकरणका लागि समयसीमा तोकिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए । उनले निर्धारित समयतालिका पालना गर्न यातायात व्यवसायी, सवारीधनी तथा चालकलाई आग्रह गरेका छन् ।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि काठमाडौं–बल्खु–दक्षिणकाली हुँदै हेटौँडा आउने सार्वजनिक सवारीसाधनका लागि समयसीमा निर्धारण गरिसकेको छ । काठमाडौं प्रशासनले शुक्रबार जारी गरेको सूचनाअनुसार काठमाडौंको बल्खुबाट बिहान ५ बजेपछि मात्रै उक्त रुटमा सवारी सञ्चालन गर्न पाइनेछ भने साँझ ८ बजेभित्र फर्पिङ प्रहरी चेकपोस्ट पार गरिसक्नुपर्नेछ ।
गत बिहीबार २६ गते काठमाडौंबाट हेटौँडा हुँदै सर्लाहीका लागि छुटेको विद्युतीय गाडी दुर्घटना हुँदा एकै परिवारका ६ जनासहित १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । उक्त दुर्घटनापछि हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल तथा सिस्नेरी सडकखण्डको सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्दै आएको छ ।
दुर्घटनापछि दुवै जिल्ला प्रशासनले सवारी सञ्चालनमा समयसीमा निर्धारण गरेसँगै हेटौँडा–काठमाडौं सडकमा यात्रु सुरक्षाका लागि नियमन कडा पार्ने प्रयास गरिएको छ ।

