Search
Close this search box.

बकैयामा आगलागी हुँदा घरसहित ७ लाख बराबरको क्षति

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट घरसहित करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान करिब ७ बजे स्थानीय प्रकाश बलको काठले बनेको खरले छाएको दुईतले घरमा आगलागी भएको हो ।
घरमा कोही नभएको अवस्थामा बालबालिकाले आगोसँग खेल्ने क्रममा अचानक आगलागी भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
आगलागी भएपछि स्थानीयवासीको सहयोगमा बिहान करिब ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै घरभित्र रहेका अन्नपात, लत्ताकपडा र भाँडाकुँडासमेत जलेर नष्ट भएका छन् । घटनामा मानवीय तथा चौपाय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan