Search
Close this search box.

मकवानपुरका मतदाता ४ वर्षमा २२ हजार थपिए


हेटौँडा । मकवानपुरमा पछिल्लो करिब चार वर्षको अवधिमा २२ हजार ५१६ मतदाता थपिएका छन् । थपिएका मतदातामध्ये आधाभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका मात्रै छन् । जिल्लाका १० स्थानीय तहमध्ये इन्द्रसरोवर गाउँपालिकामा भने मतदाता संख्या घटेको छ ।
बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार २०८३ कात्तिक १५ गतेसम्म मकवानपुरमा ३ लाख १७ हजार ४३५ मतदाता पुगेका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनका बेला जिल्लामा २ लाख ९४ हजार ९१९ मतदाता थिए । यस अवधिमा जिल्लामा २२ हजार ५१६ मतदाता थपिएको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
मतदाता वृद्धिको ठूलो हिस्सा हेटौंडा उपमहानगरपालिकामा केन्द्रित देखिएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा १ लाख ४ हजार ४७३ मतदाता रहेको हेटौंडामा अहिले १ लाख १७ हजार ७०१ पुगेका छन् । चार वर्षको अवधिमा यहाँ १३ हजार २२८ मतदाता थपिएका हुन् । यो जिल्लाभर थपिएका कुल मतदाताको आधाभन्दा बढी हो ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकामा पनि मतदाता संख्या उल्लेख्य बढेको छ । २०७९ मा ३२ हजार ३०७ मतदाता रहेको थाहामा अहिले ३४ हजार ४८४ पुगेका छन् । यस अवधिमा २ हजार १७७ मतदाता थपिएका छन् ।
मनहरी गाउँपालिकामा २ हजार ४७६, कैलाश गाउँपालिकामा १ हजार ४८९, बकैया गाउँपालिकामा ९७८ र भीमफेदी गाउँपालिकामा ५३२ मतदाता थपिएका छन् । त्यस्तै बागमती गाउँपालिकामा ४५८ र राक्सिराङ गाउँपालिकामा ३४२ मतदाता थपिएका छन् ।
तर, संघीय राजधानी काठमाडौंसँग जोडिएको इन्द्रसरोवर गाउँपालिकामा भने मतदाता संख्या बढ्नुको सट्टा घटेको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा १२ हजार ४७१ मतदाता रहेको यस पालिकामा २०८३ कात्तिक १५ सम्म आइपुग्दा संख्या घटेर १२ हजार ३१९ पुगेको छ । चार वर्षमा १५२ मतदाता घटेका हुन् ।
प्रदेश निर्वाचन कार्यालयका कर्मचारीले पनि मतदाता घट्नुको प्रमुख कारण अन्यत्र बसाइँसराइ हुन सक्ने अनुमान गरेका छन् ।
मकवानपुरका ग्रामीण तथा दुर्गम क्षेत्रबाट रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य सुविधाको खोजीमा सहर तथा विदेशतर्फ जाने क्रमले स्थानीय जनसंख्याको संरचनामा प्रभाव पारिरहेको देखिन्छ । सडक, बिजुली र आधारभूत सेवा विस्तार भए पनि गाउँमा रोजगारी तथा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको पर्याप्त अवसर नहुँदा युवा तथा परिवार बसाइँ सर्न बाध्य छन् ।

“गाउँमा विकास पुगेको छ तर ग्रामीण भेगका बासिन्दा सहर कुदेका छन्,”इन्द्रसरोवर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले भन्नुभयो।
राष्ट्रिय जनगणना २०७८ अनुसार मकवानपुरको जनसंख्या ४ लाख ५८ हजार ४९४ रहेको छ । जिल्लाको जनसंख्या वृद्धिदर ० दशमलव ९९ प्रतिशत छ ।
मतदाता संख्यामा भएको वृद्धिले जिल्लाको समग्र जनसंख्या वृद्धिसँगै आन्तरिक बसाइँसराइ र सहरीकरणको प्रवृत्तिलाई पनि उजागर गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan