‘समाजको विकास र परिवर्तनका लागि मेरो उम्मेदवारी’

महालक्ष्मी उपाध्याय ‘डीना’ । मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्ष उम्मेदवार बन्ने महिलाहरु मध्येको एक हुन् । कांग्रेसको केन्द्रीय सहमहामन्त्री ‘डीना’ मकवानपुर–१ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी छन् । उनको नाम मकवानपुरको लागि मात्रै होइन, नेपालकै राजनीतिमा एउटा स्थापित नाम हो । विद्यार्थी आन्दोलन होस् या महिला आन्दोलन, हरेक समयमा सशक्त रुपमा आफ्नो आवाज बुलन्द पार्ने गरेकी मकवानपुरे नेता डीना पहिलो जीतको खोजीमा यतिबेला चुनावी मैदानमा होमिएकी छन् ।

कांग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित उनले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी छन् । स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसकी पूर्वसभापति उनले विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर पनि काम गरिसकेकी छन् । विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय उनी संविधानसभा निर्वाचन अगाडिसम्म जलस्रोत राज्यमन्त्री थिइन् । डीना यसअघि तीनपटक पराजित भइसकेकी छन् । पार्टीले समानुपातिकतर्फको पहिलो नम्बरमा राखेको आफ्नो नाम काटेर जनताबाट प्रत्यक्षरूपमा अनुमोदित हुन आएको उनी बताउँछिन् । सहजै समानुपातिकबाट सांसद् हुने निश्चित भएपनि जनताको बीचमा काम गरेर जनताबाट निर्वाचत हुन आएकोले आफ्नो जीत निश्चित रहेको उनी बताउँछिन् । नेपालको संविधान निर्माण र संविधानमा महिलाहरुको समावेशी सहभागिताको लागि महत्वपूर्ण भूमिका खेलेको कारण पनि आफूलाई जनताले मत दिएर अनुमोदित गर्ने उनी बताउँछिन् । आसन्न प्रतिनिधिसभा निर्वाचनको सम्बन्धमा केन्द्रित रहेर महालक्ष्मी उपाध्याय ‘डीना’सँग गरिएको कुराकानीः

निर्वाचनको तयारी कस्तो भइरहेको छ ?
निर्वाचनको तयारी भनेर त्यस्तो धेरै छुट्टै मैले केहि पनि गरेको छैन । म सधैं मकवानपुरका जनताहरुसँग उहाँहरुकै घरदैलोमा थिएँ । अहिले पनि म जनतासँगै छु । २०७४ सालमा हारेदेखि नै २०७९ सालको निर्वाचनका लागि तयारीमा जुटिराखेकी छु । म निरन्तर जनताको माझमा काम गर्दै आएकी छु ।


तपाईँलाई पार्टीबाट समानुपातिकको पहिलो नम्बरमै राख्ने कुरा भएको थियो रे । सजिलै सांसद् हुनसक्ने बाटो छाडेर चुनावी मैदानमा किन आउनु भयो ?
आसन्न निर्वाचनमा पार्टीले मलाई पदाधिकारी पनि भएकोले समानुपातिकतर्फ मेरो नाम अगाडि नै राखेको थियो । मैले चाहेको भए समानुपातिकबाट सांसद् बन्ने निश्चित नै थियो तर, म जनतासँग काम गरेकी मान्छे । जनताबाट प्रत्यक्ष रूपमा अनुमोदित भएर जान्छु भनेर आएकी हुँ । जनताबाटै अनुमोदित भएर जनताकै लागि काम गर्न म चुनावी मैदानमा होमिएकी हुँ । त्यसैले जनताले माया गरेर जिताउनु हुन्छ भन्नेमा म ढुक्क छु ।

तपाई यसअघिको निर्वाचनहरुमा पराजित हुनु भएको थियो । विगतका हारलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

विगतको निर्वाचनहरुमा मैले गणितीयरुपमा हार व्यहोरेको हो । तर, मकवानपुरको जनताको माया, साथ सहयोग र सद्भावमा मैले कहिले पनि हारेको छैन । म हारसँग डराउने मान्छे पनि होइन । जनताको माझमा रहेर जनताकै लागि काम गर्ने मान्छे भएकोले जनताले दिएको मतलाई सम्मान गर्दै आएको छु । आगामी दिनमा पनि मकवानपुरको जनताले मलाई दिनुहुने मतलाई म सम्मान गर्छु ।

महिला भएकै कारण पछि पर्नुपर्ने अवस्था छ कि छैन तपाईको अनुभवमा ?
अहिले विगतको जस्तो अवस्था छैन । अहिले विस्तारै परिवर्तन हुने क्रममा छ । मानसिक रूपमा मानिस परिवर्तन भएको मैले महसुस गरेकी छु । गत आम निर्वाचन र स्थानीय तहको निर्वाचन हेर्दा पनि त्यो देख्न सकिन्छ । विगतको निर्वाचनमा गठबन्धनसँग मैले पाएको मतलाई हेर्ने हो भने मैले चुनाव जितेको नै हो । त्यसैले महिलालाई भोट नहाल्ने भन्ने मनस्थिति मतदाताको छैन । तर तपाईँले भन्नु भएको जस्तो नेतृत्वमा महिलालाई हेर्ने र नेपालको संविधानले दिएको अधिकार कार्यान्वयन गर्नमा हिच्किचाहट भएको चाहिँ नेतृत्व तहमा मैले महशुस गरेकी छु । त्यसैकारण मैले आफ्नो पार्टीको नेतृत्व र विभिन्न राजनीतिक पार्टीका राष्ट्रिय तहमा बसेका पदाधिकारी, केन्द्रीय सदस्य र साथीहरूसँग धेरै छलफल गरेर यसलाई कसरी परिवर्तन गर्न सकिन्छ भनेर बहस गरिरहेका छौँ । संविधानले दिएको अधिकार कार्यान्वयन गर्ने सन्दर्भमा हामी सचेत छौँ । अहिलेको मूल ‘एजेण्डा’ भनेको संविधानले दिएको समानुपातिक सहभागिताको सुनिश्चितता हो । यसैको लागि पनि मैले आफ्नो ठाउँमा प्रत्यक्षरूपमा निर्वाचनमा भाग लिने निर्णय गरेकी हुँ ।

आगामी निर्वाचनमा उम्मेदवार बनिरहँदा मकवानपुरका लागि तपाईले के कस्तो एजेण्डा बोक्नुभएको छ ?
संविधान बनाउने क्रममा जनअधिकारका लागि लडें, अब व्यवहारमा लागू गर्न उम्मेदबारी दिएको छु । संविधानमा भएका व्यवस्थालाई जनतामाझ लैजानु अहिलेको चुनौती ह । चुनावकै लागि भनेर नयाँ एजेण्डा त्यस्तो कुनै बनाएको छैन । विगतदेखि नै मैले मकवानपुरमा गर्दै आएको कामहरु छन् । तीनैलाई अगाडि बढाउँदै मकवानपुर जिल्लाको विकास गर्नु मेरो एजेण्डा हो । जिल्लाको स्थानीय बासिन्दाको समस्या र आवश्यकता पूरा गर्दै लैजानु मेरो प्रमुख दायित्व पनि हो । मैले धेरै लामो समयदेखि जनसंख्या र विकासको क्षेत्रमा काम गरेँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्सम्म मैले यो क्षेत्रमा काम गरेकी छु ।

अहिले देशभर नै विकासका नाममा ठूला–ठूला बाटो बनाउने काममात्रै भएको छ । बाटो विकासको एउटा मेरुदण्ड त हो तर, जनताको आवश्यकता अरू के–के हुन् रु स्वास्थ्यको पहुँच कतिको छ रु शिक्षाको पहुँच कस्तो छ रु भन्ने विषय ख्याल गर्न नसकेको अवस्था छ । आज पनि मकवानपुर साच्चिँकै बत्तीमुनिको अँध्यारो भने जस्तै केन्द्रीय राजधानी नजिकै भएर पनि बत्तीमुनिको अँध्यारो अवस्थामा नै छ । मकवानपुर बागमती प्रदेशको पनि राजधानी भइसक्यो तर, यस्ता गम्भीर र सान्दर्भिक कुरामा अहिलेसम्मका जनप्रतिनिधिले काम गर्न नसकेको अवस्था छ । तीन तहमा जसरी हामीले सिंहदरबारको अधिकार गाउँघरमा भनिरहेका छौँ, त्यहाँका जनता लाभान्वित भए कि भएनन् भन्ने कुरा सोचेर उनीहरूको जीवनपद्धति परिष्कृत गरेर लाभ दिलाउने काम अझै सशक्तरूपमा लैजानुपर्छ भन्ने मलाई लाग्छ ।

अहिलेको जनताको माग पनि यही नै हो । हामीले चाहेको शिक्षा भएन, स्वास्थ्योपचार प्रभावकारी भएन, रोजगार भएन, भन्ने उहाँहरूको कुरा छ । अझै पनि सानोतिनो बिरामी हुँदा पनि काठमाडौं धाउनुपर्दा गाउँमा हाम्रो पहुँच के भयो त ? हाम्रो गाउँको स्वास्थ्य सेवालाई कसले हेर्ने भन्ने आवाज पनि आइरहेको छ । त्यसैले यी कुरालाई कसरी व्यवस्थापन गर्न सकिन्छ, भोलि संसदमा जाँदै गर्दा यो विषयवस्तु कानुनतः अझै परिवर्तन गर्नुछ, संशोधन गर्नुछ भने त्यसमा आवाज बुलन्द गर्ने काममा म स्वतः भइहाल्छु । तीनै तहको सरकारलाई सजग र सतर्क बनाउँदै गर्दा जनताको पहुँचलाई त्यो ठाउँमा पु¥याउने काममा प्रभावकारी भूमिका खेल्ने मेरो अठोट छ ।


जनताले तपाईँलाई किन भोट हाल्ने ?
संविधान निर्माणमा मेरो महत्वपूर्ण भूमिका छ । समावेशी राजनीतिलाई मूल ठाउँमा राखेर मुख्य एजेण्डाको रूपमा हामीले धेरै आवाज उठायौँ। आजको संविधानमा जति पनि अधिकार प्रत्यायोजित भएको छ, त्यो समावेशी राजनीतिलाई हामीले अगाडि बढाएका हौँ । त्यही अनुसार समाजको विकास र परिवर्तन हुनुपर्छ भन्ने मेरो एजेण्डा हो । सम्पूर्ण जातजातिको अधिकारका लागि पनि म लडेकी छु । विशेषगरी महिलाका लागि आजसम्म महिला हिंसाका कारण, आवश्यक शिक्षाको अभावको कारण, स्वास्थ्यमा पहुँच नभएको लगायत कारण जसरी पीडित भएर बस्नु भएको थियो । यी कुरालाई मध्यनजर गरी आवाज उठाउँदै आएको हुनाले म चुनावी मैदानमा उभिएकी छु । मलाई विश्वास छ– मैले उठाएका एजेण्डा कार्यान्वयन गर्ने पक्षमा पनि मैले काम गर्न सक्छु । त्यसैले मलाई मत दिनु भनेको संविधान, नीति र नियमले दिएको विषयलाई कार्यान्वयन गर्नु हो ।

तपाई गत निर्वाचनमा मकवानपुर–२ बाट उम्मेदवार हुनुहुन्थ्यो । यो निर्वाचनमा किन क्षेत्र परिवर्तन गर्नुभयो ?

२०७४ सालको चुनावमा म क्षेत्र नम्बर २ बाट उठेकी हुँ । त्यसअघि मकवानपुरमा ३ वटा क्षेत्र थिए । त्यति वेला हेटौंडा बजार नै मेरो मूल ठाउँ हो । त्यसकारणले हिजोको दिनमा राप्रपा र नेपाली कांग्रेसको गठबन्धन हुँदा १ नम्बरबाट कमल थापा उठ्दै गर्दा म अर्को क्षेत्रबाट उठेकी हुँ । त्यो बेला पनि केही गाउँपालिका मेरा लागि नयाँ नै थिए तर, मैले चुनाव हार्छु भन्ने थाहा हुँदाहुँदै पनि जनतामाझ बिचार लिएर गएँ । अहिले अब फेरि गठबन्धन छ । गठबन्धनको कुरा भइरहँदा हामीलाई भागबण्डामा क्षेत्र नम्बर १ परेको हुनाले म यो क्षेत्रबाट उठेँ तर समग्र मकवानपुर जिल्ला नै मेरो क्षेत्र हो । कुनै एउटा भूगोलमात्रै मेरो क्षेत्र होइन । मैले जिल्लालाई नै आफ्नो निर्वाचन क्षेत्र मानेकी छु ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...