Search
Close this search box.

श्रीमानलाई मिर्गौला दिएकी बिन्दु आफैँ उपचारको पर्खाइमा, प्रत्यारोपणका लागि ४ लाख जुटाउन मुस्किल


हेटौंडा । श्रीमानको जीवन बचाउन आफ्नो एउटा मिर्गौला दान गर्नुभएकी ६० वर्षीया बिन्दु श्रेष्ठ अहिले आफ्नै जीवन बचाउन सहयोगी हातको प्रतीक्षामा हुनुहुन्छ । श्रीमानको मिर्गौला फेल भएपछि आफ्नो मिर्गौला दिएर उहाँको जीवन बचाउनुभएकी बिन्दु अहिले आफैँ मिर्गौला फेल भएपछि उपचारका लागि आर्थिक सहयोग जुटाउन नसकेर जीवनसँग संघर्ष गरिरहनुभएको छ ।
काठमाडौंको शतुङ्गलस्थित गौथली चोकनजिकै नयाँ बस्तीमा बस्दै आउनुभएकी बिन्दुको आर्थिक अवस्था अत्यन्तै नाजुक छ । उहाँ नियमित डायलाइसिस गराउँदै आउनुभएको छ । पछिल्लो समय छातीमा पानी जमेको र थप उपचारका लागि रकम आवश्यक परेको उहाँले बताउनुभयो ।
कुनै समय सम्पन्न परिवारमा रहनुभएकी बिन्दुले ऋण तिर्न नसकेपछि करिब चार वर्षअघि आफ्नो घर बेच्नुपरेको बताउनुभयो । अहिले उहाँ त्यही घरको एउटा कोठामा भाडामा बस्दै आउनुभएको छ । तर, आर्थिक अभावका कारण महिनौँदेखि घरभाडासमेत तिर्न नसकेको उहाँको गुनासो छ ।
श्रीमानको जीवन बचाउन आफ्नै मिर्गौला दान गर्नुभएकी बिन्दु अहिले उहाँबाट अलग्गिएर बस्न बाध्य हुनुहुन्छ । उहाँका श्रीमान अहिले आफ्नी जेठी श्रीमतीसँग बस्दै आउनुभएको छ । श्रीमान पनि मिर्गौला रोगबाट पीडित भएर बिरामी अवस्थामा रहेको बिन्दुले बताउनुभयो ।
हाल बिन्दु आफ्नी एक्ली छोरीसँग बस्दै आउनुभएको छ । छोरीले आमालाई मिर्गौला दान गर्न सक्ने भए पनि प्रत्यारोपणका लागि आवश्यक रकम जुटाउन नसक्दा उपचार अघि बढाउन समस्या भइरहेको उहाँले बताउनुभयो ।
बिन्दुका अनुसार मिर्गौला प्रत्यारोपणका लागि करिब चार लाख रुपैयाँ आवश्यक छ । तर, आर्थिक अवस्था कमजोर भएकाले उक्त रकम जुटाउन आमाछोरीलाई कठिन भइरहेको छ ।
छोरी आफैँ पनि काम गरेर आमाको उपचार खर्च जुटाउन सक्ने अवस्थामा हुनुहुन्न । आमाछोरीलाई दैनिक छाक टार्नसमेत समस्या भइरहेको बिन्दुले बताउनुभयो । औषधि उपचार, घरभाडा र दैनिक जीवनयापनका लागि आवश्यक रकम अभाव हुँदा आफूहरू थप संकटमा परेको उहाँको गुनासो छ ।
श्रीमानको जीवन जोगाउन आफ्नो शरीरको एउटा महत्त्वपूर्ण अङ्ग दान गर्नुभएकी बिन्दु अहिले आफ्नै जीवन जोगाउन अरूको सहयोगको प्रतीक्षामा हुनुहुन्छ । नियमित उपचार र मिर्गौला प्रत्यारोपणका लागि आवश्यक रकम जुटाउन नसक्दा उहाँको स्वास्थ्य उपचार प्रभावित भइरहेको छ । आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहनुभएकी बिन्दुलाई समयमै सहयोग जुट्न सके उपचार अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।

सहयोगका लागि अपिल

बिन्दु श्रेष्ठको उपचार, औषधि तथा दैनिक जीवनयापनका लागि सहयोग गर्न चाहने व्यक्ति, सङ्घसंस्था तथा सहयोगी मनहरूले ९८४१०१२५६५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

हिटाबाट

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan