Search
Close this search box.

बकैया अटो दुर्घटना; श्रीमानको मृत्यु, श्रीमती र बालक घाइते


हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–५, श्रीपुरमा अटोको ब्रेक फेल भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार दिउँसो करिब २ः१० बजे मदन भण्डारी लोकमार्गअन्तर्गत भनौराबाट जुरेलीतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ह ०१०५ नम्बरको अटो ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको हो।
दुर्घटनामा बकैया गाउँपालिका–५, भनौराका करिब ४५ वर्षीय सन्तबहादुर माझीको मृत्यु भएको छ। दुर्घटनामा उनकी श्रीमती ४० वर्षीया शान्तिमाया माझी र मकवानपुरगढी गाउँपालिका–१ का आठ वर्षीय सन्देश कुमार मुक्तान घाइते भएका छन्।
दुर्घटनामा टाउको, अनुहार तथा हातखुट्टामा चोट लागेका सन्तबहादुरसहित तीनैजनालाई उपचारका लागि मकवानपुर सहकारी अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि सन्तबहादुर र शान्तिमायालाई दिउँसो ३ः१५ बजे चितवनको भरतपुर रिफर गरिएको थियो।
भरतपुर लैजाने क्रममा बाटोमै सन्तबहादुरको स्वास्थ्य अवस्था बिग्रिएपछि साँझ ५ः२० बजे उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमपछि आफन्तले बुझेको प्रहरीले जनाएको छ।

हातखुट्टामा चोट लागेकी शान्तिमायाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने घाइते बालक सन्देशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न अटो चालक बकैया गाउँपालिका–४ का ५१ वर्षीय रामकाजी माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan