Search
Close this search box.

घट्टेखोला कटान नियन्त्रणका लागि २ करोडको ठेक्का


हेटौंडा । भक्तपुरको सूर्यविनायकस्थित घट्टेखोलामा आएको बाढीले बस्ती आसपासको जमिन कटान गरेपछि नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि बागमती प्रदेश सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाएको दुई करोड रुपैयाँको बजेट सुनिश्चित भएको छ।
प्रदेश सरकारबाट स्रोत सुनिश्चित भएपछि सूर्यविनायक नगरपालिकाले कटान नियन्त्रण तथा जोखिम न्यूनीकरणसम्बन्धी कामका लागि ठेक्का आह्वान गरेको छ।
अविरल वर्षापछि खोलामा आएको बाढीले बस्ती आसपासको क्षेत्र कटान गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घटनास्थलको अवलोकन तथा निरीक्षण गर्नुभएको थियो। सो क्रममा उहाँले आपत्कालीन व्यवस्थापनका लागि प्रदेश सरकारबाट दुई करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको थियो।
मुख्यमन्त्री थापा मगरले प्रतिबद्धताअनुसार बजेट सुनिश्चित भई निर्माण प्रक्रिया अघि बढेको बताउनुभयो। उहाँले आगामी वर्षायामअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गर्दै ठेक्का प्रक्रिया पूरा भएपछि काम सुरु हुने र निर्धारित समयभित्रै सम्पन्न हुने अपेक्षा व्यक्त गर्नुभयो।
बाढीले बस्ती आसपासको जमिन कटान गरेपछि स्थानीय बासिन्दामा थप क्षति हुन सक्ने चिन्ता बढेको थियो। वर्षायाममा खोलाको बहाव बढ्दा बस्तीमा थप जोखिम निम्तिन सक्ने अवस्थालाई ध्यानमा राख्दै कटान नियन्त्रणको काम अघि बढाइएको हो।
मुख्यमन्त्री थापा मगरले प्रतिबद्धता जनाउनु मात्र नभई त्यसलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएको बताउनुभयो। आफूहरू शासक नभई जनताको सेवक भएको उल्लेख गर्दै उहाँले भन्नुभयो,”हामी बोल्दैनौँ मात्र, बोलेको कुरा कार्यान्वयन गरेर नै छोड्छौँ, किनकि हामी शासक होइनौँ, सेवक हौँ र हजुरहरूको सेवामा हरदिन, हररात तयार छौँ।”
प्रदेश सरकारबाट बजेटको स्रोत सुनिश्चित भई नगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाएसँगै घट्टेखोलाको कटानबाट जोखिममा रहेका स्थानीय बासिन्दाले राहत महसुस गरेका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan