Search
Close this search box.

भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् ; प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न विजयादशमीले प्रेरणा दिनुपर्ने बताएका छन्।

विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने अनुभूति गर्ने वातावरण निर्माण गर्न सबै एकजुट हुनुपर्ने बताएका हुन्।

उनले समाजमा व्याप्त अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न आग्रह गरेका छन्। परिवर्तनका लागि सोचसँगै व्यवहारमा पनि सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनतबाट सामाजिक विकृति हटाउन सकिने बताएका छन्।

विजयादशमीलाई असत्यमाथि सत्यको विजयका रूपमा व्याख्या गर्दै प्रधानमन्त्री शाहले दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको पौराणिक प्रसङ्ग स्मरण गरेका छन्।

उनले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताले भरिएको नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्न विजयादशमीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। वर्षौँदेखि टाढिएका साथीभाइ तथा आफन्तसँग आत्मीयता साटासाट गर्ने अवसरका रूपमा पनि यस पर्वको विशेष महत्त्व रहेको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै विजयादशमीलाई आपसी सद्भाव, एकता, सम्मान र मायासहित मनाउन आग्रह गरेका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan