हेटौँडा । हेटौँडा उपमहानगरपालिका–८, भावनामार्गमा श्रीमान् मृत र उनकी श्रीमती घाइते अवस्थामा फेला परेका छन्।
शुक्रबार बिहान घरभित्र शंकर कार्की झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् भने उनकी श्रीमती चरिमाया कार्की घाइते अवस्थामा भेटिएकी छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार
घरको दोस्रो तलामा शंकर फलामको डन्डीमा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए। उनकी श्रीमती चरिमाया भने भान्साकोठामा घाइते अवस्थामा भेटिएकी थिइन्। उनको मुख, टाउको र दुवै खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार घटनाअघि श्रीमान् श्रीमतीबीच विवाद भएको आशंका गरिएको छ। महिलाको माइती रामेछापबाट फोन गरि विवाद भएको जानकारी शंकरकी दिदी भवानी महतलाई गराइएको थियो। त्यसपछि भाइको घर पुगेकी भवानीले ढोका भित्रबाट बन्द रहेको पाएपछि स्थानीयलाई खबर गरेकी थिइन्।
स्थानीयमार्फत सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घरको ढोका फोडेर भित्र प्रवेश गर्दा शंकर झुन्डिएको र चरिमाया घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाका बेला घरमा श्रीमान्–श्रीमती मात्रै रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
घाइते चरिमायालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। पछि थप उपचारका लागि उनका छोराले चितवनस्थित भरतपुर अस्पताल लगेका छन्।
प्रहरीका अनुसार घटनास्थलमा रगत लागेको ढुंगाको लोहोरो र इँटा फेला परेका छन्। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली खटिएको छ।
शंकरको मृत्यु र चरिमाया घाइते हुनुको कारण तथा घटनाको वास्तविक विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।

