बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
बडादशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री थापाले विपद्बाट प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो।
विशेषगरी भोटेकोसी तथा बूढीगण्डकी क्षेत्रमा आएको बाढीका कारण नागरिकले भोग्नुपरेको पीडाप्रति दुःख व्यक्त गर्दै उहाँले प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउनुभएको छ। विपद्बाट प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै उहाँले उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाइने बताउनुभएको छ।
मुख्यमन्त्री थापाले नेपालीका प्रमुख चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थाका अवसर मात्र नभई सामाजिक सद्भाव, आपसी एकता, पारिवारिक सामीप्यता र राष्ट्रिय पहिचानका आधारसमेत भएको उल्लेख गर्नुभएको छ।
विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्परासँग जोडिएका पर्वले आपसी भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना सुदृढ बनाउँदै आएको उहाँको भनाइ छ। चाडपर्वले समाजमा प्रेम, सहयोग र सहअस्तित्वको भावना अभिवृद्धि गर्दै समुन्नत तथा समावेशी समाज निर्माणका लागि प्रेरणा दिने उहाँले विश्वास व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री थापाले बडादशैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।
उहाँले चाडपर्वको खुसीसँगै विपद्बाट प्रभावित नागरिकको पीडामा साथ दिन र उनीहरूको जीवन सामान्य अवस्थामा फर्काउन सहयोग गर्नु सबैको सामूहिक दायित्व भएको सन्देशसमेत दिनुभएको छ।

