‘म समाज सेवाको उद्देश्य बोकेर राजनीतिमा छु’

ईन्द्रबहादुर बानियाँ, जसले मकवानपुरमा नेपाली कांग्रेसलाई संगठित बनाए । कम्युनिष्टहरुको गढको बीचमा कांग्रेसको झण्डा फहराए । कांग्रेस मकवानपुरको सभापति हुँदै हाल बागमती प्रदेशका सभापति रहेका बानियाँ मकवानपुर क्षेत्र नम्बर–२ (ख) बाट चुनावी मैदानमा छन् ।

गृह राज्यमन्त्री, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनिसकेका बानियाँ यसअघि ०७४ को निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । पाँच वर्षे कार्यकालमा उनले साढे ३ वर्ष प्रमुख प्रतिपक्षीको रुपमा भुमिका निर्वाह गरे । यो निर्वाचनमा उनी निर्वाचित भए र कांग्रेसको नेतृत्वमा प्रदेश सरकार बनेको खण्डमा उनी कांग्रेसबाट बागमती प्रदेशको मुख्यमन्त्रीका दाबेदार मानिएका छन् । उनको उम्मेदवारी सेरोफेरोमा केन्द्रित रहेर बानियाँसँग गरिएको कुराकानी :

तपाई दोहो¥याएर एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्नु भएको छ । मतदाताहरुलाई कतिको उत्साही देख्नु भएको छ ?

म २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुँ । यस अवधिमा मैले मतदाताहरुले दिनुभएको जिम्मेवारी निष्ठापूर्वक पूरा गरेको छु । मतदाताहरुलाई अहिले व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन कहिले हुन्छ भन्ने जिज्ञासा छ । त्यसैले जनतामा त्यति धेरै उत्साह देखिएको छैन । जनतामा आशा र भरोसा जगाउन हामिले धेरै काम गर्नुपर्नेछ । मतदाताहरुमा अहिले फेरि एकपटक संघीयताको पक्षमा, गणतन्त्रको समावेशीताको पक्षमा मत हाल्छौ भन्ने छ । तर, हामीहरुको अवस्था कहिले परिवर्तन हुन्छ भन्ने चाहिँ जनताको जिज्ञासा रहेको छ । त्यस कारण त्यो जिज्ञासा मेटाउने काम हाम्रो हो । जनताले दिएको मतले दृढता र संकल्पसहित अब हामि अगाडि बढ्छौ ।

अघिल्लोपटक यही क्षेत्रबाट निर्वाचित भएपछि तपाई के–के काम गर्नुभयो ?

म निर्वाचित हुँदा पनि नहुँदा पनि सधैं यहाँको जनतासँगै छु । जनताको विकास निर्माणको कुरामा पनि दुखसुखमा, अप्ठेरो पर्दा निरन्तर व्यक्तिगत रुपमा होस् या सस्ंथागत रुपमा साथ दिँदै आएको छु । मैले निर्वाचित भएको पाँच वर्षमा ४ वर्ष संसदमा प्रतिपक्षले जे भुमिका खेल्नुपर्ने हो त्यो ईमान्दारितापुर्वक, निष्ठापुर्वक निर्वाह गरे । संघ र प्रदेशबीच बनाउनुपर्ने नियम, कानुन, विधेयकहरु, प्रदेश र स्थानीय तहबीचको र प्रदेशको अधिकारको लागि विभिन्न विधेयक बनाउन प्रतिपक्षको रुपमा अनवरत रुपमा आफ्नो जिम्मेवारीको काम गरे । पछिल्लो समय गठबन्धनको सरकारमा आफ्नो पार्टीको मन्त्रीहरु पठाएपछि आफ्नो निर्वाचन क्षेत्रमा मैले आफूले सकेको अधिकतम गाउँमुखी बजेट लैजान सकेको छु । सबैभन्दा विकट राक्सिराङ र कैलाश गाउँपालिका जस्तो ठाउँमा सबैभन्दा विकास भनेको सडक, खानेपानी, स्वास्थ्यको क्षेत्रमासँगै पुल निर्माण गर्ने काम पनि मैले गरेको छु । एउटा गाउँलाई अर्को गाउँसँग जोड्ने पुलदेखि परेवाभीरमा बाटो बनाउनेजस्तो काम पनि मैले गरेको छु ।

तपाई बागमती प्रदेशको भावी मुख्यमन्त्रीको बलियो दाबेदार हुनुहुन्छ । प्रदेशको मुख्यमन्त्री बन्नुभयो भने तपाईको भुमिका कस्तो हुन्छ ?

जनतालाई सर्वोपरी मानेर काम गर्दै जाने हो, पदमा हुँदा वा नहुँदा दुवै समय मैले निरन्तर जनताको हितमा काम गरेको छु । २०७० सालमा मकवानपुर क्षेत्र नम्बर–१ का मतदाताले निर्वाचित गरेर जिम्मेवारी दिएदेखि नै त्यस अघि झैं म निरन्तर कर्ममा अघि बढेको छु । यस अवधिमा मैले संविधानसभा सदस्य, गृह राज्यमन्त्री, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र बागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेको छु । बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दलको नेताको जिम्मेवारीलाई संसदीय मर्यादाभित्र रहेर सशक्त ढंगले पूरा गरेको छु । पछिल्लो पटक गठबन्धन दलको प्रदेश सरकार निर्माण भएपछि सत्ता साझेदार नेपाली कांग्रेस संसदीय दलका नेताका रुपमा सरकारमार्फत् जनताको विकासको भोक मेट्न काम गरेको छु ।

व्यक्तिगत रुपमै जनताको शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकासलगायत क्षेत्रमा काम गरेको जस्ता कारण पनि मतदातामा मप्रति विश्वास र भरोसा छ । म पार्टीको इमान्दार कार्यकर्ता भएका कारण पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्न प्रतिवद्ध हुनेछु । मुख्यमन्त्रीको जिम्मेवारी पाउँदा प्रदेशको विकासलाई नयाँ उचाईंमा पु¥याउन काम गर्नेछु । गरिब केन्द्रित, गाउँमुखी, सेवामुखी, न्यायमुखी र आयमुखी तीर लक्षित भएर प्रदेश सरकार अघि बढ्छ । प्रदेश सरकारले गरिबको छोराछोरीलाई निशुल्क शिक्षा दिने नीति लिन्छ । प्रदेशको सबै पालिकाबाट डाटा लिएर गरिबको छोराछोरीले निशुल्न पढ्न सक्ने व्यवस्था हुनेछ । प्रदेश सरकारले प्रदेशको सबै गरिव तथा विपन्नहरुको निशुल्क स्वास्थ्य बिमा गर्नेछ । स्वास्थ्य बिमाको रकम एक लाखबाट बढाइनेछ । गरिवहरुको लागि १० हजार घर बनाउने काम पनि गरिन्छ । देशको राजधानी
रहेको प्रदेशको गौरव बढाउनको लागि राजधानी चक्रपथ बनाउने तथा एअरपोर्ट बनाउने जस्ता धेरै काम गरिन्छ । त्यसको साथै प्रदेशलाई बलियो बनाउदै संघीयता कार्यान्वयनमा महत्वपुर्ण भुमिका खेलिनेछ ।

तपाईको विपक्षमा उम्मेदवारी दिएकाहरु र असन्तुष्ट पक्षहरु पनि विस्तारै तपाईको समर्थनमा आइरहेका छन् । यो कसरी सम्भव भयो ?

मैले उहाँहरुलाई गणतन्त्र सस्ंथागत गर्न र संघीयतालाई बलियो बनाउन संघीयता जोगाउन र मास्न खोज्ने बीचको निर्वाचनमा सहयोग गर्न अपील गरेँ । मेरो विरुद्वमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनु भएको माओवादीको खुशीलाल चेपाङलाई मैले म चेपाङलाई मन्त्री बनाउने मान्छे हुँ तपाई पहिचानको लागि हिँड्ने व्यक्ति यस्तो नगर्नुस् भनेपछि उहाँले मेरो आग्रह स्विकार्नु भयो । अरुले पनि उहाँहरुको उम्मेदवारीले गणतन्त्र मास्नेहरुलाई मद्वत पुग्ने हाकि भनेर उम्मेदवारी निस्क्रिय पारेर मलाई सहयोग गर्नुभयो । जनताको लागि जनताले गर्ने व्यवस्थालाई बलियो बनाउनुपर्छ भनेर अहिले हामी सबै सँगै हिँडिरहेका छौ ।

जनताले तपाईलाई किन भोट हाल्ने ?
म जनताप्रति ईमान्दार छु । म विकासप्रेमी छु । म जनताको सुख दुःखमा सधै उनीहरुकै साथमा हुन्छु । र म समाजसेवाको उद्देश्यले राजनीतिमा आएको हुँ । जीवनयापनका लागि मेरो पेशा व्यवसाय छ, म राजनीतिलाई पेशा बनाउने कुराको विरोधी हुँ । म सधैं जनताको व्यक्तिगत् सुखदुःख, सामाजिक हित र भूगोलको विकासमा जोडिएको छु । मैले आफ्नो निर्वाचन क्षेत्रको सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीका लागि राज्यस्तरमा पहल गरेर धेरै काम गरेको छु । राज्यस्तरबाट हुन नसकेका कतिपय कामले आफ्नो व्यक्तिगत् सहयोगबाटै पूरा गरिरहेको छु । यसबारे मेरो निर्वाचन क्षेत्र मात्र नभई प्रदेशका जनतालाई नै अवगत छ ।

म विकास र जनताको जीवनस्तर सुधारका लागि बागमती प्रदेशका सबै जिल्लामा पुगेर समस्या समाधानमा जुटेको छु । जनताका व्यक्तिगत समस्यादेखि विकासका काममा समेत प्रत्यक्ष जोडिएर काम गरिरहेकाले पनि मतदाता मलाई मतदान गर्न आतुर हुनुहुन्छ । म पुनः अर्को कार्यकाल आफ्ना मतदाताको सेवाका लागि दृढ संकल्पित भएर अघि बढेको छु ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...