Search
Close this search box.

बालमैत्री विद्यालय निर्माणका लागि चारदिने कार्यशाला

हेटौँडा । विद्यालयमा बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार तथा दबाबपूर्ण व्यवहार रोक्दै सुरक्षित र बालमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले हेटौँडामा चारदिने विद्यालय बाल संरक्षण मापदण्डसम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।

सिविन नेपालको आयोजना, मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाको सहकार्य तथा साप्लानिरको सहयोगमा आयोजित कार्यशाला शुक्रबार सम्पन्न भएको हो । कार्यशालामा हेटौँडा उपमहानगरपालिकाका १२ र मनहरी गाउँपालिकाका ९ गरी २१ विद्यालयका प्रतिनिधि तथा स्थानीय तहका सरोकारवालाको सहभागिता रहेको थियो ।

कार्यशालाको समापनमा शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदीप गिरिले विद्यालयमा बालबालिकालाई अनुशासनका नाममा दबाब दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले बालबालिकामाथि दबाब सिर्जना गरिएका घटनाका उजुरी आउने गरेको उल्लेख गर्दै उनीहरूकै सहभागितामा आचारसंहिता निर्माण गरी अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यशालामा विद्यालयमा हुने बाल हिंसा तथा बाल यौन दुर्व्यवहारको रोकथाम, बालबालिकाको जोखिम पहिचान, संरक्षणको सुनिश्चितता र उजुरी सुनुवाइ प्रक्रियाबारे छलफल गरिएको थियो । साथै बालबालिकासँग गर्न नहुने व्यवहार, विद्यालयको दायित्व तथा बाल संरक्षणका लागि आवश्यक संस्थागत व्यवस्थाबारे सहजीकरण गरिएको थियो ।

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ५७ मा रहेको व्यवस्थाअनुसार विद्यालय व्यवस्थापन समितिले बाल संरक्षण मापदण्ड तयार गरी लागू गर्नुपर्ने विषयमा सहभागीलाई जानकारी गराइएको थियो । विद्यालयमा बाल संरक्षण मापदण्ड कार्यान्वयन तथा गुनासो सुनुवाइका लागि प्रधानाध्यापकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने र बालअधिकार संरक्षण शिक्षक तोक्ने व्यवस्थाबारे समेत छलफल गरिएको थियो ।

मधु दवाडी र प्रमेश वादेले सहजीकरण गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, बालमैत्री सम्पर्क शिक्षक, अभिभावक तथा स्थानीय तहका शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिका शाखाका प्रतिनिधिसहित ९० जनाको सहभागिता रहेको थियो ।
सिविनका प्रबन्धक झविन्द्र ज्ञवालीको अध्यक्षतामा भएको समापन कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शिवप्रसाद खनाल, महिला तथा बालबालिका शाखाकी बाल कल्याण अधिकारी शीला अधिकारी, शिक्षा तथा स्वास्थ्य शाखाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा बालमैत्री शिक्षकहरूले मन्तव्य राखेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan