मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा नवौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी मंसिर ८ गतेदेखि आयोजना हुने भएको छ ।
मंसिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
बागमती गाउँपालिका–४ स्थित झुरझुरे खेलमैदानमा हुने प्रतियोगितामा ए डिभिजनका ६ क्लबसहित मोफसलका चार टोली सहभागी हुनेछन् । प्रतियोगितामा मच्छिन्द्र, चर्च ब्वाइज, नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बल (एपीएफ) लगायतका टोलीले सहभागिता जनाउनेछन् ।
बागमती गाउँपालिकाको प्रयोजन तथा गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता नकआउट प्रणालीमा खेलाइनेछ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ दिइनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष सर्केश घलानले प्रतियोगिता सम्पन्न गर्न करिब ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिए ।

