उत्तरी अमेरिकामा आएको हिम आँधीका कारण अमेरिका र क्यानडामा अहिलेसम्म कम्तिमा ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
यस आँधीका कारण अमेरिकामा ३४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
यो आँधीको सबैभन्दा बढी प्रभाव न्युयोर्क राज्यको बफेलो सहरमा देखिएको छ ।
यसैबीच क्यानडाको मेरिट सहरमा हिउँले ढाकिएको सडकमा बस चिप्लिएर चार जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिका विगत केही दिनदेखि यस आँधीको चपेटामा परेको छ । तर विद्युत आपूर्ति सामान्य भइरहेको देखिएको छ ।
समाचार एजेन्सी एपीका अनुसार आइतबार दिउँसोसम्म मात्रै दुई लाख मानिससम्म विद्युत आपूर्ति भइरहेको छैन । यसअघि यो संख्या १७ लाख थियो ।
यस आँधीका कारण हजारौं उडान रद्द भएका छन् । जसका कारण क्रिसमसको अवसरमा ठूलो संख्यामा मानिसहरु आफ्नो परिवारसम्म पुग्न सकेका छैनन् ।
यस हिमआँधीले जति विशाल क्षेत्र ओगटेको छ, त्यो अभूतपूर्व छ ।
यसको प्रभाव उत्तरी अमेरिकामा क्यानडादेखि सुदूर दक्षिणको अमेरिकी प्रान्त टेक्साससम्म देखिएको छ ।
गत आइतबार, करिब ५.५ मिलियन अमेरिकी नागरिकहरूलाई हिम आँधीसँग सम्बन्धित चेतावनी जारी गरिएको थियो ।
न्युयोर्क राज्यका गभर्नर क्याथी होचुलले यसलाई बफेलो सहरको इतिहासमा सबैभन्दा विनाशकारी आँधी भएको बताएकी छिन् ।
न्युयोर्क राज्यको एरी काउन्टीका कार्यकारी मार्क पोलोनकार्जले समाचार एजेन्सी रोयटर्सलाई एक व्यक्ति आफ्नो कारमा मृत फेला परेको बताए ।


