Search
Close this search box.

‘रेन्बो फेमिली’ को शङ्कास्पद भेला

अछाम जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र रामारोशनमा आयोजना हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन जमघट मात्र रहेको पाइएको छ । ‘रेन्बो फेमिली’ तथा ‘रेन्बो ग्यादरिङ युनिटी’ नामक नेटवर्कमार्फत विभिन्न देशका नागरिक अछाम पुगेका छन् । अझै कतिपयको आउने क्रम जारी छ भने केही रोकिएका छन् । 

एक सातादेखि अछामका विभिन्न स्थानमा रोकिएका उनीहरू सामाजिक सञ्जालबाट परिचालित ‘रेम्बो फेमिली’, ‘रेन्बो ग्यादरिङ युनिटी इन नेपाल’, ‘वल्र्ड रेन्बो नेपाल–२०२३’ र ‘वल्र्ड रेम्बो फेमिली’ नामक फेसबुक पेजमार्फत गरिएको आह्वानमा नेपाल भित्रिएका हुन् । ती फेसबुक पेजमध्ये रेन्बो फेमिली २०७२ सालदेखि सक्रिय रहेको पाइएको छ । 

विश्वका अन्य स्थानमा भएका यस्तै जमघटका आधारमा प्रतिबन्धित लागुऔषध सेवनदेखि ‘मर्डर’ सम्म हुने खालका जमघट कसको आयोजनामा हुन लागेको हो भन्ने खुलाइएको छैन । सामाजिक सञ्जालबाट पठाइएको निमन्त्रणामा सेप्टेम्बर १५ देखि सुरु हुने जमघटमा सहभागिता जनाउन केही विदेशी नागरिक रामारोशन पुगिसकेका छन् भने पाँच सय जनाभन्दा बढीले कार्यक्रममा सहभागी हुनेबारे सामाजिक सञ्जालमार्फत नै आयोजकलाई जानकारी गराएका छन् ।

विदेशीलाई नेपाल भित्र्याउन सामाजिक सञ्जालमा सक्रिय फेसबुक पेजमा हजारौँ सदस्य छन् । त्यसमध्येको ‘रेन्बो ग्यादरिङ युनिटी इन नेपाल’ नामक फेसबुक पेजका एडमिन तथा मोडरेटमा दुई जना नेपाली छन् । आफूलाई कालिका कन्स्ट्रक्सनको इन्जिनियर बताउने अमित दाहाल उक्त पेजका एडमिन हुन् भने यञ्जन आचार्य पेज मोडरेट हुन् । उनीहरूले सन् २०१९ मा उक्त पेज बनाएर यस्ता क्रियाकलापबारे जानकारी दिने, सोधिएको जिज्ञासाको जवाफ दिनेलगायतका काम गर्दै आएका छन् ।  

कालिका कन्स्ट्रक्सनले भने अमित नामक कर्मचारी आफ्नो कम्पनीमा कोही पनि नरहेको जनाएको छ । यसरी विदेशीलाई नेपाल भित्र्याएर जमघट गर्न अछामकै उदय रोकाया, अनुप केसी, सुजन खनाललगायतले समेत काम गरेको पाइएको छ । उदय रोकायाले ‘सुन्दर रामारोशनमा स्वागत छ’ भन्दै कार्यक्रम स्थलमा पुग्न नेपाल प्रवेश गर्ने छोटो र सहज सडक मार्ग, नेपाल भित्रिइसकेपछि अछामसम्म पुग्ने मार्गबारे सामाजिक सञ्जालमार्फत सुझाव दिइरहेका छन् ।

जमघटमा सहभागी हुन भारतको दिल्ली, गोवा, तिब्बतको लद्दाखलगायतका ठाउँमा पुगेका विदेशीले नेपाल भित्रिने छोटो मार्गबारे उक्त ग्रुपमा जिज्ञासा गरिरहेका छन् । जवाफमा रोकायालगायतका नेपाली युवाले कैलालीको गौरीफन्टा, महेन्द्रनगरको वनबासा र बैतडीको झुलाघाट नाका हुँदै स्थल मार्गबाट नेपाल भित्रिन सहज हुने भन्दै विदेशीलाई सुझाइरहेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan