Search
Close this search box.

कृषिदेखि डीडीसी बिक्री केन्द्रसम्म फेन्चु लामाको यात्रा

कृषिदेखि डीडीसी बिक्री केन्द्रसम्म फेन्चु लामाको यात्रा

हेटौँडा । आफ्नै माटोमा केही गर्ने अठोटका साथ शिक्षकको जागिर छाडेर कृषिमा होमिएका हेटौँडा–१३, पदमपोखरीका ३८ वर्षीय फेन्चु लामा रुम्बा अहिले कृषि उद्यमसँगै दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनको बजार विस्तारमा पनि सक्रिय छन्। व्यावसायिक फलफूल खेतीबाट पहिचान बनाएका उनले पहिलोपटक हेटौँडाको हुप्राचौरमा डीडीसीको बिक्री केन्द्र सञ्चालनमा ल्याएर दुग्धजन्य उत्पादनको बिक्री–वितरण सुरु गरेका छन्।

कृषि र उद्यमलाई सँगसँगै अघि बढाइरहेका फेन्चुले डीडीसीका उत्पादन उपभोक्तासम्म सहज रूपमा पुर्‍याउने उद्देश्यले बिक्री केन्द्र सञ्चालनमा ल्याएको बताएका छन्। उनका अनुसार बिक्री केन्द्रबाट दैनिक करिब ५० हजार रुपैयाँ बराबरको कारोबार भइरहेको छ। यसलाई थप व्यवस्थित र विस्तार गर्ने योजनासहित उनी अघि बढेका छन्।

हाल हुप्राचौरमा सञ्चालनमा रहेको बिक्री केन्द्रलाई हेटौँडा उपमहानगरपालिकाका अन्य वडासम्म विस्तार गर्ने उनको योजना छ। त्यसैगरी, मकवानपुरका अन्य नौ स्थानीय तहमा समेत डीडीसीका उत्पादनको बिक्री–वितरण विस्तार गर्ने तयारी भइरहेको उनले बताएका छन्। यसबाट उपभोक्ताले सहज रूपमा दुग्धजन्य उत्पादन प्राप्त गर्नुका साथै स्थानीय बजारमा यसको पहुँच पनि बढ्ने अपेक्षा गरिएको छ।

डीडीसीको सेवा विस्तारसँगै फेन्चुको मुख्य पहिचान कृषि उद्यमीका रूपमा पनि स्थापित छ। हेटौँडा–१३, पदमपोखरीमा कुनै समय कोदो र मकैबाहेक अन्य बाली उत्पादन गर्न कठिन हुने जमिनलाई उनले अहिले हरियाली फलफूल बगैँचामा परिणत गरेका छन्।

मास्टर डिग्रीसम्मको अध्ययन पूरा गरी करिब सात वर्ष शिक्षकका रूपमा काम गरेका फेन्चुलाई आफ्नै माटोमा केही गर्ने चाहनाले निरन्तर प्रेरित गरिरह्यो। सुरक्षित जागिर र निश्चित तलब हुँदाहुँदै पनि बाउबाजेको जमिनको सदुपयोग गर्दै स्वदेशमै उद्यम गर्ने सोचका साथ उनले शिक्षक पेसा छाडेर कृषि रोजेका थिए।

करिब आठ वर्षअघि १०० वटा उन्नत जातका बाख्रापालनबाट सुरु भएको उनको कृषि यात्रा अहिले व्यावसायिक फलफूल खेतीसम्म आइपुगेको छ। लागत, मेहनत र जोखिमका कारण उनले अहिले बाख्राको संख्या घटाएर ५० वटामा सीमित गरेका छन्।

हाल उनले एक बिघा जमिनमा ५०० वटा मेवाका बोट र करिब आठ हजार ड्रागन फ्रुटका बोट लगाएका छन्। सिजनअनुसार सयपत्री फूल, खर्बुजा र अम्बाको खेतीसमेत गर्दै आएका छन्। सिँचाइको अभाव झेलिरहेको जमिनमा बोरिङको व्यवस्था गरी खेती विस्तार गरेका उनले कृषि व्यवसायबाट खर्च कटाएर वार्षिक करिब १० लाख रुपैयाँ बचत हुने गरेको बताएका छन्।

उनको फार्ममा चार जनाले नियमित रोजगारी पाएका छन् भने कामको चापअनुसार थप कामदारसमेत लगाउने गरिएको छ। कृषि व्यवसायबाट आम्दानी बढाउँदै आएका फेन्चु अहिले दुग्धजन्य उत्पादनको बिक्री–वितरण र बजार विस्तारमा समेत जोडिएका छन्।

‘काम जे गरिन्छ, त्यसमै निरन्तरता दिनुपर्छ,’ उनी भन्छन्, ‘निरन्तरताले नै मलाई यहाँसम्म ल्याएको हो।’ उनका अनुसार कृषि होस् वा अन्य व्यवसाय, धैर्य, मेहनत र निरन्तरता नै सफलताको आधार हो।

कृषि क्षेत्रमा पुर्‍याएको योगदानका लागि फेन्चु २०७९ सालमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका थिए। २०८० सालमा हेटौँडा उपमहानगरपालिकाबाट उत्कृष्ट सिर्जनशीलता पुरस्कार प्राप्त गरेका उनले बागमती प्रदेशस्तरीय उत्कृष्ट उद्यमी पुरस्कारसमेत पाइसकेका छन्।

कृषिबाट सुरु भएको उनको उद्यमशीलता अहिले डीडीसीका उत्पादनको बिक्री–वितरण विस्तारसम्म पुगेको छ। आफ्नै जमिनको सदुपयोग गर्दै उत्पादन, रोजगारी सिर्जना र बजार विस्तारमा सक्रिय फेन्चुको यात्रा स्वदेशमै सम्भावना खोज्ने युवाका लागि प्रेरणादायी बनेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan