Search
Close this search box.

भोटेकोशी बाढीमा बेपत्ता हेटौँडाका प्रदीपको ६० दिनपछि कुशको शव बनाएर अन्त्येष्टि

भोटेकोशी बाढीमा बेपत्ता हेटौँडाका प्रदीपको ६० दिनपछि कुशको शव बनाएर अन्त्येष्टि

हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएको दुई महिनासम्म पनि अवस्था पत्ता नलागेपछि हेटौँडा–५ का २५ वर्षीय प्रदीप सापकोटाको परिवारले कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेको छ ।
गत भदौ १० गते बाढीपछि सम्पर्कविहीन भएका प्रदीपको शव फेला नपरेपछि परिवारले आइतबार हेटौँडा–१० स्थित राप्ती नदी किनारमा हिन्दू धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरेको हो ।
रोजगारीका लागि रसुवा पुगेका प्रदीप निर्माणाधीन जलविद्युत् आयोजनामा मजदुरी गर्थे । बाढी आउनुअघि उनले दसैँमा घर फर्किने बताएका थिए । तर, बाढीमा बेपत्ता भएपछि परिवारले उनको अवस्था पत्ता लगाउन सकेन ।

लामो समयसम्म छोराको कुनै खबर नपाएका बुबा बाबुराम सापकोटाले अन्तिम संस्कारका लागि समेत आर्थिक अभाव झेल्नुपरेको थियो । काजकिरिया गर्ने खर्च जुटाउन नसकेको भन्दै उनी केही दिनअघि जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेका थिए ।
भोटेकोशी बाढीमा बेपत्ता भएका मकवानपुरका अन्य परिवारले पनि शव फेला नपरेपछि कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरिसकेका छन् । थाहा नगरपालिका–३ का नेपाली सेनाका जमदार प्रदीप बर्तौला, प्रशान्त कार्की तथा थाहा–६ बज्रबाराहीका रञ्जन अधिकारी र रेलबहादुर अधिकारीका परिवारले पनि धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरेका हुन् ।
भोटेकोशी बाढीमा बेपत्ता भएका मकवानपुरका ५८ जनाको कानुनी अवस्था टुंग्याउन जिल्ला प्रशासन कार्यालयले विवरण संकलन तथा प्रमाणीकरण प्रक्रिया अघि बढाएको छ ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार असोज २३ गते नेपाल राजपत्रमा प्रकाशित विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र ‘भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्ने विशेष प्रक्रिया, २०८३’ अनुसार प्रक्रिया अघि बढाइएको हो ।
बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत विवरण यकिन गरिनेछ । परिवारको निवेदन, स्थानीय तहको प्रमाणीकरण तथा दाबीविरोधको प्रक्रिया पूरा भएपछि विवरणलाई अन्तिम रूप दिइनेछ ।

सम्बन्धित वडा कार्यालयले बेपत्ता व्यक्तिका परिवारबाट बढीमा पाँच दिनको समय दिएर निवेदन आह्वान गर्नेछ । त्यसपछि प्राप्त विवरणमा तीन दिन दाबीविरोधको समय दिइने र अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइने व्यवस्था रहेको प्रजिअ अधिकारीले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिले पाँच दिनभित्र निर्णय गरी विवरण प्राधिकरण र सम्बन्धित प्रदेश मन्त्रालयमा पठाउनेछ ।

मकवानपुरमा बेपत्ता व्यक्तिका सम्पर्क व्यक्तिको विवरण कात्तिक ११ गतेभित्र पालिकामा पेस गर्नुपर्ने र स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयसहितको विवरण कात्तिक १८ गतेभित्र जिल्ला समितिमा पठाउनुपर्ने समयसीमा तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बेपत्ता हुनेमा हेटौँडा उपमहानगरपालिकाका सबैभन्दा धेरै २१ जना छन् । थाहा नगरपालिकाका २०, मनहरी गाउँपालिकाका चार, मकवानपुरगढी र बकैया गाउँपालिकाका तीन–तीन, भीमफेदी गाउँपालिकाका दुई, इन्द्रसरोवर र कैलाश गाउँपालिकाका दुई–दुई तथा राक्सिराङ गाउँपालिकाका एक जना छन् ।
बाढीमा परेका मकवानपुरका ४५ जनाको उद्धार गरिएको थियो भने हेटौँडाका तीन र भीमफेदीका एक गरी चार जनाको मृत्यु पुष्टि भइसकेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan