Search
Close this search box.

बिई प्रवेश परीक्षा अन्योलमा

ललितपुर – त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच भएको सहमति अन्योलमा परेको छ।  इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच सोमबार राति ११ बजे शुल्क वृद्धि नगर्ने र यही असोज २२ गते स्नातक तह (बिई-बिआर्क) को प्रवेश परीक्षा सञ्चालन गर्ने सहमति भएको थियो ।

संस्थानका डिनले दबाबमा हस्ताक्षर गरेको भन्दै अध्ययन संस्थानका अन्य पदाधिकारीले अस्वीकार गरेपछि सहमति कार्यान्वयन नै शङ्काको घेरामा परेको छ । संस्थानका जिम्मेवार पदाधिकारी कोही पनि सञ्चार सम्पर्कमा आउन चाहेका छैनन्। सबै पदाधिकारी भागाभागको स्थिति छ। संस्थानमा चार जना सहायक डिन छन्।

तीमध्येका एक जना सहायक डिनले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भने, “सोमबार राति डिन सरले ज्यान जोगाउन बाध्य भएर हस्ताक्षर गर्नुभएको हो । हामी कसैलाई पनि सहमति स्वीकार्य छैन । त्यसैले असोज २२ गते प्रवेश परीक्षा सञ्चालन हुँदैन ।”

दुईबुँदे सहमतिपत्रमा संस्थानका तर्फबाट डिन प्राडा शशीधर जोशी र सहायक डिन प्राडा सुशील वज्राचार्यले हस्ताक्षर गर्नुभएको छ। नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियुलगायत विद्यार्थीका ११ जना नेताले हस्ताक्षर गरेका छन् ।

पुरानै शुल्कमा नयाँ भर्ना गर्ने र नयाँ भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुन चाहनेले असोज १८ गतेसम्मका लागि आवेदनको म्याद थप्ने तथा असोज २२ गते प्रवेश परीक्षा सञ्चालन गर्ने सहमति भएको थियो । खाली कागजमा सहमति गरिएको थियो । सहमतिपछि डिनको कार्यालयको लेटरप्याडमा प्रवेश परीक्षासम्बन्धी सूचना टाँस गरिएको थियो ।

अर्का एक सहायक डिनले आफूहरूलाई विद्यार्थी सङ्गठनहरूले निकै आतङ्कित पारेको गुनासो गर्दै आफूहरू जिम्मेवारीबाट मुक्त हुन चाहेको बताउनुभयो। इन्जिनियरिङ अध्ययन संस्थानले अध्ययन शुल्क सात लाख ७५ हजार रुपियाँ पु-याउने निर्णय गरेको थियो ।

हाल तीन लाख १८ हजार रुपियाँ शुल्क रहेको छ । संस्थानले वार्षिक झन्डै १५ करोड रुपियाँ घाटामा रहेको भन्दै शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । त्यसका विरुद्धमा विद्यार्थी सङ्गठनहरू उत्रिएका हुन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan