Search
Close this search box.

हेटौंडाको सुमो-इभी काउन्टरमा धुलोको सास्ती, बस्ने ठाउँको अभाव


हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलस्थित रोपवे चौरमा रहेको संयुक्त सुमो तथा इभी काउन्टरमा धुलो र बस्ने ठाउँको अभाव हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ। सवारीसाधन कुरिरहेका यात्रु धुलो उड्ने चौरमा बस्ने कुर्सीको व्यवस्था नहुँदा घण्टौँसम्म उभिन बाध्य छन्।
दशैं मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढिरहेका बेला काउन्टर क्षेत्रमा धुलो नियन्त्रण र यात्रुका लागि बस्ने व्यवस्था नहुँदा वृद्धवृद्धा तथा बालबालिकासमेत समस्यामा परेका छन्।
हेटौंडा उपमहानगरपालिकाको विपद् व्यवस्थापन तथा समन्वय शाखा प्रमुख हिमप्रसाद पौडेलले दशैं बिदाका कारण कर्मचारी अभाव हुँदा धुलो व्यवस्थापनमा समस्या भएको बताए। उनका अनुसार नगरपालिकासँग पानी छर्कने ट्याङ्कर र त्यसका लागि चालकसमेत उपलब्ध नभएकाले तत्काल धुलो नियन्त्रण गर्न कठिन भएको हो।
पौडेलले धुलो नियन्त्रण तथा व्यवस्थापनका लागि आइतबारसम्म व्यवस्था मिलाउने बताए।
यात्रुहरूले काउन्टर क्षेत्रमा नियमित पानी छर्कने व्यवस्था गर्न, बस्नका लागि कुर्सी राख्न तथा यात्रु प्रतीक्षालयको उचित व्यवस्थापन गर्न माग गरेका छन्। चाडपर्वका बेला यात्रुको चाप बढ्ने स्थानमा आधारभूत सुविधा र सरसफाइको व्यवस्था समयमै गर्नुपर्ने उनीहरूको भनाइ छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan