Search
Close this search box.

हेटौँडा घटना; श्रीमतीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दर्ता


हेटौँडा । हेटौँडा उपमहानगरपालिका–८ भावनामार्गमा श्रीमान् मृत र श्रीमती घाइते अवस्थामा फेला परेको घटनामा मृतककी श्रीमतीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दर्ता भएको छ।
मृतक ४६ वर्षीय शंकर कार्कीका भतिज विशाल कार्कीले उनकी श्रीमती चरिमाया कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी दिएका हुन्।
शुक्रबार बिहान शंकर घरको दोस्रो तलामा फलामको डन्डीमा सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। उनकी श्रीमती चरिमाया भने भान्साकोठामा घाइते अवस्थामा भेटिएकी थिइन्।
प्रहरीका अनुसार श्रीमान्–श्रीमतीबीच विवाद भएपछि चरिमायामाथि धारिलो हतियार प्रहार भएको थियो । चरिमायाको मुख, टाउको र दुवै खुट्टामा चोट लागेको छ। उनलाई सुरुमा हेटौँडा अस्पताल लगिएको थियो। थप उपचारका लागि उनका कान्छा छोराले भरतपुर अस्पताल लगेका छन्।
घटनास्थलमा रगत लागेको अवस्थामा ढुंगाको लोहोरो, धारिलो हतियार र इँटासमेत फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। चरिमाया उपचाररत रहेकाले उनीसँग सम्बन्धित अनुसन्धान प्रक्रिया पनि अघि बढाइने उनले बताए। यो
शंकर कार्कीको शवको शनिबार बिहान पोस्टमार्टम गरिएको छ। पोस्टमार्टमपछि शव परिवारले बुझ्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan