Search
Close this search box.

हेटौंडामा सुमो र इभी अभाव, १४ बसमा यात्रु काठमाडौं पठाइयो

हेटौंडा । दशैं मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढेसँगै हेटौंडामा टाटासुमो तथा विद्युतीय सवारीसाधन (इभी) अभाव भएको छ। शनिबार बिहानदेखि सवारीसाधन नपाउँदा अलपत्र परेका यात्रुलाई १२ वटा साझा बस र दुईवटा नेपाल बस गरी १४ वटा बसमार्फत काठमाडौं पठाइएको छ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सवारी सञ्चालकले काठमाडौंसम्म यात्रु पुर्‍याएर फर्किँदा रित्तै आउनुपर्ने र बढी भाडा लिन नपाइने कारण देखाउँदै कृत्रिम अभाव सिर्जना गरेको आशंका छ। केही सुमो तथा इभीले तोकिएको भन्दा बढी भाडा असुलेको पाइएपछि कारबाही गरी यात्रुलाई रकम फिर्ता गराइएको उनले बताए।

हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलस्थित रोपवे चौरमा यात्रुको सहजताका लागि संयुक्त सुमो तथा इभी काउन्टर सञ्चालन गरिए पनि सवारी व्यवस्थापन प्रभावकारी हुन नसकेको यात्रुको गुनासो छ। केही सवारीसाधन काउन्टरबाहिरबाटै सञ्चालन हुँदा यात्रुले घण्टौँ कुर्नुपर्ने अवस्था छ।

काउन्टर क्षेत्रमा धुलो उड्ने र बस्ने कुर्सीको व्यवस्था नहुँदा यात्रुलाई सास्ती भएको छ। वृद्धवृद्धासमेत लामो समय उभिएर सवारीसाधन कुर्न बाध्य छन्।

हेटौंडा उपमहानगरपालिकाको विपद् व्यवस्थापन तथा समन्वय शाखा प्रमुख हिमप्रसाद पौडेलले दशैं बिदाका कारण कर्मचारी, पानी ट्याङ्कर र चालकको अभाव हुँदा धुलो नियन्त्रण गर्न नसकिएको बताए। उनले धुलो नियन्त्रणका लागि आइतबारसम्म व्यवस्थापन मिलाउने जानकारी दिए।

यात्रुले तोकिएको भाडादरमा सहज यात्रा गर्ने व्यवस्था मिलाउन, पर्याप्त सवारीसाधन परिचालन गर्न र काउन्टर क्षेत्रको धुलो नियन्त्रण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan