Search
Close this search box.

हेटौंडामा राष्ट्रिय महिला भलिबल सुरु, एपिएफको विजय सुरुवात

हेटौंडा – हेटौंडामा सञ्चालन भैरहेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा शुक्रबारबाट राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । टिसिएन चौरमा जारी महोत्सवमा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा चन्द्रागिरी नगरपालिका न्यु डाइमण्ड, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, एपिएफ क्लव र मकवानपुरको छहारी युवा सेवा समाजको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एकलाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । शुक्रबार भएको उद्घाटन खेलमा एपिएफले विजय यात्रा सुरु गरेको छ । एपिएफले त्रिभुवन आर्मी क्लवलाई २९–२७, २५–१९ र २५–१८ को सेटमा पराजित गरेको हो । खेलको प्लेयर अफ द म्याच एपिएफकी सरस्वती चौधरी घोषित भइन् । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्की, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना, खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, भलिबल संघका उपाध्यक्ष ईन्द्र सञ्जेल लगायतको आतिथ्यता रहेको थियो । उपमेयर बानियाँले हेटौंडा उपमहानगरपालिकाले खेलकुदसहित नगरको सर्वाङ्गीण विकासमा योजनाबद्ध काम गरिरहेको बताए । यस प्रतियोगितालाई मकवानपुरका स्थानीय तहसहित हेटौंडा उपमहानगरको विभिन्न वडा र अन्य संघसंस्था तथा व्यक्तिले सहयोग गरेका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan