Search
Close this search box.

हेटौँडामा लिटल स्टार्सको च्यारिटि शो, मामाघर नेपाललाई सहयोग गरिने


हेटौँडा । मामाघर नेपालको सहयोगार्थ हेटौँडामा चलचित्र लिटल स्टार्सको च्यारिटि शो सम्पन्न भएको छ। ब्रोडकाष्टिङ मिडिया हाउसद्वारा सञ्चालित रेडियो बुलेटिन ८९.७ मेगाहर्जको आयोजनामा आइतबार हेटौँडास्थित ओम्याक्स सिनेमा हलमा चलचित्र प्रदर्शन गरिएको हो।
एजे टिम हेटौँडा प्रालिद्वारा निर्मित चलचित्र लिटल स्टार्सले सडक बालबालिका तथा बालबालिकाको अवस्थासँग सम्बन्धित सामाजिक विषयवस्तु उठाएको छ।
कार्यक्रमकी प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले सामाजिक विषयवस्तुमा आधारित चलचित्रलाई सबैले मनन गर्दै त्यसले उठाएका सवालको समाधानतर्फ अघि बढ्नुपर्ने बताइन्। उनले चलचित्रको टिमलाई आगामी दिनमा आवश्यक सहयोग गर्न आफू तयार रहेको बताइन्।
गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले हेटौँडालाई सडक बालबालिकारहित बनाउन आफूहरूबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्। सिविन मकवानपुरका प्रमुख झविन्द्र ज्ञवालीले चलचित्रले बालबालिकाको क्षेत्रमा थप सक्रिय भएर काम गर्न आफूहरूलाई हौसला मिलेको बताए।
मामाघर नेपालका अध्यक्ष अर्पण पराजुलीले चलचित्रमा उठाइएको विषयवस्तु आफूहरूले वास्तविक जीवनमै देख्दै आएको बताए। उनले आगामी दिनमा बालबालिकाहरू सडकमा सुत्नुपर्ने अवस्था अन्त्य गर्न संस्था अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

रेडियो बुलेटिन ८९.७ मेगाहर्जका प्रबन्ध निर्देशक तथा कार्यक्रमका सभाध्यक्ष अनिलकुमार खातीले रेडियोले विगतदेखि नै सामाजिक विषयवस्तुलाई प्राथमिकताका साथ उठाउँदै आएको बताए। उनले समाजका समस्यामाथि निगरानी र खबरदारीसँगै आवश्यक सहजीकरणसमेत गर्दै आएको बताए।
उनले च्यारिटि शोबाट संकलित रकम हेटौँडा–११ स्थित मामाघर नेपाललाई सहयोग गरिने जानकारी दिए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan