Search
Close this search box.

शिक्षक महासंघ अवैधानिक रहेको ठहर गर्दै शिक्षक संगठन वागमती प्रदेशको बैठक सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश समिति वागमती प्रदेशको तेस्रो पूर्ण बैठक प्रदेश राजधानी हेटौडामा सम्पन्न भएको छ । अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न पूर्ण बैठकलाई महासचिव पूर्णबहादुर पुरीले सञ्चालन गरेका हुन् ।
बैठकले शिक्षक आन्दोलनकै अग्रणी भूमिका निर्वाह गर्दै आएको शिक्षक संगठनको असहमतीका वावजुद पनि घोषणा गरिएको शिक्षक महासंघ अवैधानिक र स्वतः अमान्य रहेको ठहर गर्दै प्रस्ताव पारित गरेको छ । बैठकले तत्कालकै अवस्थामा महासंघमा आफूहरुको कुनैपनि सहभागिता नरहने निर्णय पारित गरेको संगठन अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । शिक्षक संगठन राष्ट्रिय समितिले समेत यसअघि नै यस्तो निर्णय गरिसकेको छ ।
कार्यक्रममा पेशागत महासंघ वागमती प्रदेश अध्यक्ष एवम् शिक्षक संगठन काभ्रेपलाञ्चोक अध्यक्ष रामचन्द्र थापाले शिक्षकहरुको पेशागत मर्यादामाथि नै भएको चौतर्फी दवावप्रति आक्रोश व्यक्त गरे । शिक्षक संगठन र पेशाकर्मीहरुले लोकतन्त्र र गणतन्त्र प्रप्तिका लागि गरेका भूमिकाको राजनैतिक जिम्मा कसले लिने ? थापाको जिकिर थियो । शिक्षक संगठन दोलखा अध्यक्ष सञ्जय खड्काले शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकहरुप्रति दिएको पछिल्लो अभिव्यक्तिमाथि खेद प्रकट गरे । राष्ट्रिय समिति सदस्य लक्ष्मी गजुरेल सहित उपस्थित कार्यक्रममा सातवटा प्रमूख एजेण्डामाथि छलफल गर्दै महत्वपूर्ण निर्णयहरु पारित गरिएको छ ।
कार्यक्रममा प्रदेश अन्तर्गत रेहका १३ वटै जिल्लाका अध्यक्ष एवम् प्रतिनिधिहरुले प्रगति विवरण पेश गरेका थिए । यता मकवानपुर अध्यक्ष श्रीराम दाहालले भने शिक्षा विधेयकको नाममा आम शिक्षकहरुमाथि नेतृत्व तथा सरकार मिलेर पार्न खोजेको भूलभूलैया कदापि मान्य नहुने जिकिर गरे । दाहालले निर्णायक आन्दोलनका लागि नेतृत्वसंग नै फरक मत राख्न परेपनि आफूहरु पछि नपर्ने चेतावनी दिए । उनले शिक्षक महासंघलाई केही व्यक्तिहरुले हातमा लिएर विधान विपरित उठाएका कदमप्रति राष्ट्रिय समितिले नै कानुनी उपचार खोज्नुपर्ने बताए ।
बैठकमा मार्च टू लोकल लेभल २०२४ अन्तर्गत पहिलो चरणको अभियान सातवटै प्रदेशमध्ये शिक्षक संगठन वागमती प्रदेशले पहिलोपटक सम्पन्न गरेको जानकारी दिइएको थियो । दोस्रो चरणको कार्यक्रमलाई ३ क्लष्टरमा सम्पन्न गर्ने समेत बैठकले निर्णय गरेको छ । पूर्ण बैठकले शिक्षक संगठन वागमती प्रदेशको विभागीय जिम्मेवारी समेत बाँडफाँड गरेको छ । जसअन्तर्गत महिला विभागमा सानुमैयाँ खड्का, संगठन विभागमा पूर्णबहादुर पुरी, आर्थिक विभागमा लक्ष्मी भण्डारी, शैक्षिक अनुसन्धान तथा तालिम विभागमा सुरज साउद,सहकारी विभागमा शुक्र थापा त्यसैगरी प्रचार, प्रसार एवं प्रकाशन विभागमा सुनिल गौतम, नीति तथा कानुन विभागमा लावण्यप्रसाद फुयाँल र संस्थागत विद्यालय विभागमा दिपक गौतमलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी सामाजिक एवं यूवा विभागमा शारदाप्रसाद सापकोटा,अनुशासन तथा अनुगमन विभागमा विष्णुप्रसाद पौडेल सूचना तथा प्रविधि विभागमा रुद्रबहादुर खड्कालाई जिम्मेवारी प्रदान गरिएको शिक्षक संगठन वागमती प्रदेश महासचिव पूर्णबहादुर पुरीले जानकारी दिए । पूर्ण बैठक हेटौंडाको श्रमिक मावि हेटौडा ४ मा सम्पन्न भएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan