हेटौंडा– प्राकृतिक विपत्तिबाट प्रादेशिक सडकमा हुने गरेको आपतकालीन अवरोधका बेला न्युनतम सूचना प्रवाह र आवश्यक समन्वय गर्ने उद्देश्यले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले द्रुत प्रतिकार्य टोली गठन गरेको छ । यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलको संयोजकत्वमा निर्माण गरिएको पाँच सदस्यीय टोलीलाई बुधबार भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले कार्यजिम्मेवारी प्रदान गरेका हुन् ।
द्रुत प्रतिकार्य टोलीले अवरुद्ध भएका प्रादेशिक सडकहरुको पहिचान गर्ने कार्यलाई निरन्तरता दिनुका साथै बैकल्पिक मार्गको पहिचान गर्ने, सूचना सम्प्रेषण गर्ने जस्ता कार्य गर्नेछ । आकस्मिक रुपमा अवरुद्ध सडकहरु यथाशीघ्र छिटो सुचारु ग्र्न अन्तर निकाय समन्वय गर्ने कामसमेत टोलीले गर्नेछ । टोलीको सदस्यहरुमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सडक, सडक पुल तथा अन्य पूर्वाधार महाशाखाका सुजन भण्डारी, मन्त्रालयका फोकल पर्सन ज्यानेन्द्रप्रसाद पुन, यातायात पूर्वाधार निर्देशनालयका अधिकृत हरिप्रसाद ओझा र पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुखहरु रहेका छन् ।
प्रदेश लोकमार्ग र मार्गहरु सक्रिय मनसुनजन्य तथा अन्य प्राकृतिक विपदका कारणबाट आपतकालीन आवागमनसमेत अवरुद्ध हुने गरेको र न्यनुतम सूचना प्रवाह तथा समन्वयको अभावमा वैकल्पिक पहुँचमार्गको पहिचान र प्रयोग साथै द्रुत सूचना उपलब्ध गराउन नसक्दा आम मानिसले सास्ती खेप्नुपरेकाले सो समस्याको निराकरण गर्न टोली बनाइएको मन्त्रालयले जनाएको छ । टोलीका संयोजक र सदस्यहरुलाई सांकेतिक रुपमा सुरक्षा टोपी हस्तान्तरण गर्दै मन्त्री मास्केले टोलीको औचित्यतालाई पुष्टी गर्नेगरी काम गर्न निर्देशन दिए । प्रदेश सरकारलाई अतिरिक्त आर्थिक भार नपर्ने गरी सामान्य खर्चमा काम गर्नेगरी टोली बनाइएको मास्केले बताए ।
बागमती प्रदेशको प्रादेशिक सडक गुरुयोजनामा प्रदेशमा २० वटा प्रादेशिक लोकमार्ग र २ सय ३० वटा प्रादेशिक सडक पहिचान गरी सोहीअनुसार व्यवस्थापन सुरु गरिएको छ । २० वटा प्रदेशमार्गको कुल लम्बाइ एक हजार ११ किलोमिटर र दुई सय ३० वटा प्रदेश सडकको कुल लम्बाइ पाँच हजार तीन सय ३२ किमि रहेको छ । गुरुयोजनाअन्तर्गतका सडक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले चालु आव २०८१/०८२ को बजेटमा सात अर्ब ७८ करोड ३० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ ।
