हेटाैंडा- बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले आफु मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको र सो बजेट निकै न्यून भएका कारण युवा वर्ग र खेलकुद जगतको लागि अपेक्षाकृत काम गर्न कठिनाई भइरहेको बताएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मन्त्रालय र मातहतका निकायहरुको आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा बैठकलाई सम्बाेधन गर्दै
उनले भने, ‘मैले चाहेको भए अन्य विकासे मन्त्रालय पनि लिन सक्थेँ । तर, म खेल क्षेत्रबाट आएको मानिस युवा र खेलाडीको भावना बुझ्न सक्छु, । खेलकुद मन्त्रालय कसरी चलाउने भन्ने विषयमा मलाई राम्रो ज्ञान छ । तर, म मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको थियो जुन अत्यन्तै न्यून छ । त्यसकारण सोचे अनुसारको काम गर्न सकिएको छैन । ’
उनले बजेट बृद्धि गर्न प्रदेश सरकारसँग नियमित रुपमा पहल भइरहेको भन्दै मातहतका कार्यालयले सञ्चालन गर्दै आइरहेको आयोजनाहरुलाई पूर्णता दिन आफुले सक्दो पहल गर्ने बाचा गर्दै कार्यालय प्रमुखहरुलाई निराश नहुन आग्रह गरे ।
उनले देखिने, सुनिने र नागरिकले अनुभूत गर्ने गरी उत्प्रेरित भएर काम गर्न तथा आगामी दिनमा मन्त्रालयको वार्षिक कार्य योजना बमोजिम नतिजा हासिल गर्ने गरी प्रभावकारी रुपमा कार्यसम्पादन गर्न मन्त्रालय एवम् सम्बद्ध निकायका प्रमुखहरुलाई निर्देशन दिए ।
बैठकमा प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले खेलकुद क्षेत्रको विकास एवम् विस्तारका लागि परिषद्बाट छोटो समयमा उल्लेख्य प्रयास भएको बताए । उनले राज्यले खेलकुदको विषय पाठ्यक्रममा नै समावेश गरेर अगाडी बढाउनुपर्नेमा जोड दिए ।
त्यस्तै प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले परिषद्बाट सञ्चालन भइरहेका युवा लक्षित कार्यक्रमबारे जानकारी गराउँदै तथ्याङ्क व्यवस्थापन नहुँदा तालिम कार्यक्रम संचालन गर्न केही कठिनाई भएको भन्दै त्यसतर्फ सरकारले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा क्रमश सामाजिक विकास कार्यालय काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुरका कार्यालय प्रमुखहरुले सञ्चालित आयोगनाको भौतिक एवम् वित्तीय प्रगतिबारे जानकारी गराएका थिए ।
उनीहरुले मन्त्रालय र अन्तर्गतका निकायहरुको त्रैमासिक प्रगतिका साथै आयोजनाहरुकोे वित्तीय एवं भौतिक प्रगतिको अवस्था, कार्यान्वयनमा आइपरेका समस्या तथा चुनौती र समाधानका लागि गरिएका प्रयासहरुबारे प्रस्तुतीकरण गरेका थिए ।
बैठकमा कार्यालयका प्रमुखहरुले आयोजना सञ्चालनको क्रममा देखिएका समस्याको पहिचान गरी आगामी दिनमा समस्या नदोहोरिने गरी विगतका अनुभवबाट पाठ सिक्दै प्राथमिकताका आधारमा नागरिकले अनुभूत गर्ने गरी कार्य गर्ने प्रतिवद्धता जनाए ।