हेटौंडा/ नेपाल बुद्धिचाल महासंघको आयोजनामा हेटाैंडामा सञ्चालन भइरहेको २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो चरण सम्पन्न हुदा एफएम रुपेश जैसवालले अग्रता कायम गरेका छन् ।
यस सँगै पूर्व नेपाल च्याम्पियन रुपेश जैसवालले पूर्ण ३ अंक जोडेर राष्ट्रिय च्याम्पियनको पुन: दावी पेश गरेका छन्।
रौतहटका २०९३ रेटेड रुपेशले ललितपुरका १९५२ रेटेड सुरोज महर्जन, झापाका २०२१ रेटेड शुश्रुत दहाल, काठमाडौंका १८८२ रेटेड प्रेमकृष्ण महर्जनलाई क्रमशः पराजित गर्न सफल भएका छन् ।
यसैगरी दोलखाका आशिष् फूँयालले पनि अपराजित २.५ अंक बनाउदै प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका छन् । दोश्रो स्थानका १९८१ रेटेड खेलाडी आशिषले काठमाडौंका २०१६ रेटेड एफएम रिजेन्द्र राजभण्डारी र भक्तपुरका १६८७ रेटेड विनय थापालाई हराए भने २०४५ रेटेड पुरुषोत्तम सिलवालसंग बराबरी खेलेका छन् ।
स्पर्धामा काभ्रेका २०७० रेटेड एफएम क्षितिज भण्डारी, धैर्यवान खेलाडी प्रेमकृष्ण महर्जन दुवैले समान २-२ अंक प्राप्त गर्दै संयुक्त तेस्रो स्थान ओगटेका छन्। यस्तै झापाका शुश्रुत दहाल, वर्तमान नेपाल च्याम्पियन १९८२ रेटेड राजन सुवेदी र काठमाडौंका सिएम नवीन तण्डुकारले समान १.५ अंक हासिल गरेका छन् । क्मशः सुनसरीका १८७८ रेटेड धिरेन राई, युवा पुरुषोत्तम सिलवाल, सुरोज महर्जन, रिजेन्द्र राजभण्डारी १ अंकको खाता खोलेका छन्। विनय थापा भने अंक बिहिन छन् ।
नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय स्पर्धाका शीर्ष ३ जना र राष्ट्रिय प्रतियोगिता बीवाट ९ जना खेलाडी छनौट गरि १२ जना बिच ११ चरणको राउण्ड रोविन सिनियर राष्ट्रिय प्रतियोगिता गरेको हो ।
यसमा महिला विधा तर्फ काठमाडौंका सिन्दारा जोशी र ललितपुरका एञ्जल महर्जनले सबै खेल जितेर संयुक्त अग्रस्थान हासिल गरेका छन्।
वर्तमान वोमन नेशनल च्याम्पियन सिन्दिराले काठमाडौंका निहाना श्रेष्ठ, रुकुमका नयुमा मगर र चितवनका लक्ष्मी कँडेल माथि जीत दर्ता गरेकी छिन्। एञ्जलले ओलम्पियाड खेलाडी शान्ति धिमाल, निहाना श्रेष्ठ र नयुमा मगरलाई हराएकी हुन् ।
यस्तै झापाका पुनम प्रसाईं, ताप्लेजुङका शुशिला गुरुङ, मोरङका शान्ति धिमाल, बाँकेका इशा गिरि, झापाका कृतिसारा अधिकारी र काठमाडौंका बिनिता कपाली सबैले समान २-२ अंक जोडेर संयुक्त दोश्रो स्थान ओगटेका छन्।
यसैबीच साेमबार हेटौंडा स्थित होटल सामनाको सभाहलमा बाग्मती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रतियोगिताको उदघाटन गरेका छन्।
खेलपूर्व उदघाटन समारोहमा मन्तब्य ब्यक्त गर्दै मन्त्री महर्जनले बाग्मती प्रदेश सरकार खेलकुद प्रति उदार रहेको अवगत गराएका छन्। उनी सँगै महासंघका सल्लाहकार संयोजक एवं पूर्वमन्त्री एकालाल श्रेष्ठले संयुक्त उदघाटन पश्चात् चेस खेलको बृहत्तर बिकास प्रति गौरव गर्ने ठाउँ धेरै भएको बताएका छन्। बाग्मती प्रदेश सांसद रघुनाथ महर्जन नागरिकले खेलमा लागिरहन वातावरण निर्माण गर्ने मन्तब्य सहित शुभकामना दिए ।
महासंघका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा भएको कार्यक्रम महासचिव धरम बहादुर लामाले सञ्चालन गरेका थिए । राष्ट्रिय खेल कार्यक्रममा सह-महासचिव मोनालिसा खम्बू, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकार, केन्द्रीय रमिला पोखरेल, प्रमुख निर्णायक आईए यज्ञप्रसाद पन्त लगायतको उपस्थिति रहेको थियो।