हेटौँडा । महिला पत्रकारको प्रजनन् स्वास्थ्य तथा उपचारमा सघाउने उद्देश्यले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले स्थापना गरेको स्वास्थ्य कोषलाई अमेरिकामा रहेका नेपाली पत्रकारहरूले आर्थिक सहयोग गरेका छन् । उनीहरूले कोषका लागि एक लाख रुपैयाँ उपलब्ध गराएका हुन् ।
महासंघ मकवानपुरका पूर्वकोषाध्यक्ष सुदीप सिवाकोटीको समन्वयमा अमेरिकामा कार्यरत नेपाली पत्रकारहरूले उक्त रकम जुटाएका हुन् । शुक्रबार हेटौँडामा आयोजित कार्यक्रममा अमेरिकाबाट बिदामा आएका सिवाकोटीले महासंघका अध्यक्ष बालकृष्ण अधिकारीलाई सहयोग रकमको चेक हस्तान्तरण गरे ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारी, पूर्वउपाध्यक्ष सुजन पण्डित, पूर्वमहासचिव बाबुराम दाहाल, रिपोर्टर्स क्लब अमेरिकाका अध्यक्ष किशन रेग्मी र कोलोराडो खबर डटकमका अध्यक्ष बासुदेव खनालले संयुक्त रूपमा सहयोग गरेका हुन् ।
महिला पत्रकारहरूलाई स्वास्थ्य उपचारमा आर्थिक अभाव हुन नदिन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी समस्यामा सहयोग पुर्याउने लक्ष्यसहित महासंघले आर्थिक वर्ष २०८२/८३ देखि कोष सञ्चालन गरेको हो । कोषका लागि हेटौँडा उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ । महासंघका अध्यक्ष अधिकारीसहित विभिन्न सञ्चारकर्मीले पनि कोषमा आर्थिक योगदान गरेका छन् ।
महिला पत्रकारको स्वास्थ्य सुरक्षालाई संस्थागत रूपमा सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको कोषमा स्वदेश तथा विदेशमा रहेका पत्रकारबाट सहयोग जुट्ने क्रम जारी रहेको महासंघले जनाएको छ ।
सचिव केशव सुवेदी समर्पणले संचालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर र महासंघका संस्थापक अध्यक्ष प्रताप विष्टलगायत संचारकर्मीहरुको उपस्थिति थियो ।

