विगत २२ वर्षदेखि मानव बेचबिखनविरुद्ध क्षेत्रमा माइती नेपालमा काम गर्दै आएकी माया लामासंग प्रदेश सञ्चारका तर्फबाट मञ्जिता मैनालीले गरेको कुराकानीको संक्षेपः
पछिल्लो समय माइती नेपालले केकस्ता गतिविधिहरु गर्दै आइरहेको छ ?
माइती नेपालले विगत २८ वर्षदेखि मकवानपुरमा रहेर माहिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको छ । महिला तथा बालबालिकामाथि हुने हिंसा र बेचबिखनको क्षेत्रमा काम गर्दै आइरहेका छौं । बेचबिखन तथा जोखिममा पर्नसक्ने महिलालाई माइती नेपालले चार महिनासम्म संरक्षणमा राखेर विभिन्न जीवनोपयोगी तालिम दिदै अएको छ । कोही बेचबिखन र हिंसामा परेका छन् भने माइती नेपालले उद्घार गरी कानुनी प्रक्रिया अगाडि बढाउने गरेको छ ।
नेपालमा चेलीबेटी बेचबिखनको अवस्था कस्तो छ ?
माइती नेपालले मानव बेचबिखन क्षेत्रमा काम गर्दैगर्दा पनि बेचबिखनमा पर्नेको संख्या नरोकिएको प्रश्न आउने गरेको छ । चेलीबेटी बेचबिखनमा मकवानपुर जिल्ला तेस्रोमा छ भनेर चिनिए पनि तथ्यांकले भने पुष्टि गर्न सकेको अवस्था छैन । पहिला मकवानपुरकी चेली भारतमा बेचिने गरेका थिए र धेरैलाई उद्घार गरी पारिवारिक पुनर्मिलन समेत गराइएको थियो ।
धेरैजसो सर्कसमा जाने र बेचिने घट्ना थुप्रै थिए । विगतमा भारतमा बेच्नेलाई मात्र कानुन लाग्थ्यो । सर्कसमा जादा बाबुआमाले नै बालबालिकालाई पठाउने हुँदा कानुन नलाग्ने अवस्था थियो । २०६४ मा ऐन बनेसंगै सबैलाई कानुन लाग्ने भएपछि सर्कसमा लाने र पठाउनेसहितलाई पनि कानुन लाग्यो । बिस्तारै भारतमा बेचिने क्रममा न्यूनीकरण आउदै गर्दा आन्तरिक बेचबिखन बढेको छ । वैदेशिक रोजगारीको बहानामा समेत बेचबिखन भइरहेको पछिल्लो समय पाउदा सकिन्छ ।
बेचबिखनमा परेर फर्केका महिलालाई समाजमा बा“च्न कतिको सहज छ ?
मानव बेचबिखनमा परेर आउनुभएका महिलाहरु संस्था नै चलाएर बस्ने पनि गरेका छन् । मानव बेचबिखनमा परेर आउनुभएकालाई समाजले हेर्ने दृष्टि फरक छ । बेचबिखनमा परेकाहरुको परिवार सकारात्मक भए पनि समाजले नराम्रो गर्ने गरेको अवस्था छ । जुनसुकै समस्यामा पनि महिलालाई दोष लगाउने समाज भएका कारण पनि कतिपय समयमा असहज भएको अवस्था छ । पछिल्लो समय पैसा कमाउने उद्धेश्यले विभिन्न देशमा गएर बेचिरहेको अवस्था छ । सामाजिकसञ्जालको दुरुपयोगले गर्दा पनि पछिल्लो समय बेचबिखनमा परिरहेको अवस्था छ ।
महिलाहिंसाका पछिल्ला नयाँ रुप वा माइती नेपालमा पछिल्लो समय कस्ता घटना बढी आउने गरेका छन् ?
पछिल्लो समय बढीजसो पैसा कमाउने लोभमा र आर्थिक अवस्था नाजुक भएका व्यक्तिहरु बेचिन पुगिरहेका छन् । महिलामात्र नभएर बालबालिकासमेत बेचिरहेको अवस्था छ । वैदेशिक रोजगारीको प्रलोभनमा बढीजसो बेचिने गरेको अवस्था छ ।
महिला पीडित भएर आए पनि वास्तविकता केलाउ“दा पुरुष पीडित भएको पाउनुभएको छ ?
सबै ठाउँमा पुरुष नै पीडक हुदैनन् । घटनाअनुसार हुने गरेको छ । पछिल्लो समय महिलालाई मात्र आँखा चिम्लिएर विश्वास गर्ने अवस्था छैन । दुवै पक्ष कुरा गर्दा कतिपय महिला पीडक हुने गरेको अवस्था पनि छ । मानवअधिकारकर्मीले दुई आँखाले हेर्नुपर्ने अवस्था छ ।
नारी दिवसलाई हालको समयमा कसरी हेर्नु भएको छ ?
विगतका दिनहरु भन्दा हाल महिलाले धेरै अवसर पाएका छन् । विगतको तुलनामा महिलाले अधिकार पाइराखेको अवस्था छ । महिलाहरु सचेत भइराखेको अवस्था पनि छ । महिलाले पनि अधिकारको सही सदुपयोग गर्नुपर्छ । मानवअधिकारकर्मीका लागि नारी दिवस चाडवाड जत्तिकै भएको अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक महिलालाई विशेष प्राथमिकतामा राखेर सम्मानसमेत गर्ने गरेका छौं । जसलाई न्यायको र अधिकारको खाचो छ, उनीहरुको दिवस हो भन्ने बुझेकी छु ।
लामो समयदेखि काम गर्दा केकस्ता चुनौतीको सामना गर्नुपर्यो ?
काम नै त्यस्तै क्षेत्रमा छ । चुनौती पाइलैपिच्छे आइरहन्छ । सानै उमेरदेखि माइती नेपालमा काम गर्दै आउ“दा र पीडितको पक्षमा काम गर्दै जादा पीडित नै प्रलोभनमा परेर पछाडि हटिदिने समस्या हुन्छ । पीडक पक्षबाट आउने धम्की र अफिस नै घेर्न आउने गरेका घटनासमेत छन् ।
