कैलाश- मकवानपुरको कैलाश गाउँपालिकाका आधारभूत तथा माध्यामिक तहका आइटि स्रोत शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको छ । शुक्रबारदेखि सञ्चालित तालिम मंगलबार समापन भएको हो ।
गाउँपालिकाको आयोजनामा भएको तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले कैलाश गाउँपालिकाको परिवेश र भौगोलिक विकटताकाबीच पनि शिक्षामा क्रमिक सुधारोन्मुख अवस्था रहेको बताए । ‘यहाँका नागरिकमा चेतनाको कमी रहेको छ, सोही अनुरुप यहाँहरुले चेतना फैलाउँदै शिक्षामा सुधार ल्याउनुपर्छ’ उनले भने ।
विद्यालय र स्वास्थ्य संस्थामा कम्प्युटर र इन्टरनेट जडान गर्ने चाहाना हुँदाहुँदै पनि विकटताले गर्दा सम्भावना कम रहेको अध्यक्ष मुक्तानले बताए ।हावाहुरीको सिजनमा विद्युत प्रवाहमा असर पुग्ने भएकाले पनि समस्या उत्पन्न भएको उनले बताए । मुख्यतया शिक्षाले आम नागरिकमा चेतना जगाउने कार्य गर्दछ, चेतनाकै कर्मीले गर्दा यहाँ विकास निर्माणका काम गर्न पनि असहज परिस्थित सिर्जना भइरहेको उनले बताए ।
कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष भूवनसिं घलानले गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी गर्दै आइरहेको बताए ।
तालिममा ४३ जना विद्यालयका प्रधानाध्यापक, स्रोत शिक्षक वा आइटि फोकल शिक्षकहरुको सहभागिता रहेको थियो । तालिमलाई होमबहादुर नेपाली र विवशजङ्ग थापाले सहजीकरण गरेका थिए भने विद्यालयको प्रशासनिक कार्यबारे गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख समीर जोशीले प्रशिक्षण गरेका थिए ।
कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता तथा वडा नम्बर ९ का वडाध्यक्ष भूवन सिं घलानको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशी, प्राविधिक सहायक दिपेन्द्र अधिकारी, विद्यालय स्रोत शिक्षक ध्रुवराज विष्ट लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा जीवनज्योति प्राविका प्रअ सीता मगर र भवानी माविका प्रअ बालचन्द्र मल्लले तालिममा सिकेको सीप, अनुभव, गुनासाका साथै आगामी दिनमा हुनुपर्ने सुधारका विषयमा आफ्नो भनाई राखेका थिए ।


