Search
Close this search box.

शिवशक्तेश्वरका विद्यार्थीलाई पोसाक र स्टेशनरी निःशुल्क अभियान

हेटौंडा–बाराको निजगढ नगरपालिका–१३ मा रहेको शिवशक्तेश्वर आधारभूत विद्यालयमा नयाँ भर्ना भएका र गरिब, असहाय विद्यार्थीका लागि पोसाक र स्टेशनरीसमेत निःशुल्क उपलब्ध गराउने अभियान सुरु गरेको छ । विद्यार्थीहरुको शैक्षिक अभिभावकत्व ग्रहण गराउनको लागि सहयोगीहरुसँग आर्थिक संकलन अभियान चलाइएको छ ।

विद्यालयका प्रधानाध्याक विशाल अधिकारीका अनुसार विद्यालयमा यसवर्ष भर्ना भएका करिब ७० जनाका साथै गरिब, जेहेन्दार र सिमान्तकृत चेपाङ गरी करिब सय जनालाई पोसाक र स्टेशनरी निःशुल्क अभियान चलाइएको छ । एक विद्यार्थीको शैक्षिक अभिभावकत्वको लागि ३ हजार रुपैयाँ खर्च हुनेछ । सोहीअनुसार दाताहरुबाट प्रति विद्यार्थी अभिभावकत्वबापत ३ हजारका दरले संकलन गरिएको र हालसम्म करिब एक लाख रुपैयाँ संकलन भएको प्रधानाध्यापक अधिकारीले बताए ।

‘हामी सामुहिक कर्ममा विश्वास गर्छौं । विद्यालयका सबै शिक्षकले सहयोगापेक्षी विद्यार्थीहरुको शैक्षिक अभिभावकत्व लिने र यो अभियानलाई जनमानससम्म पुर्याई निःशुल्क शिक्षाको अनुभुति दिलाउने प्रयत्नमा छौँ’ प्रधानाध्यापक अधिकारीले भने । आफूहरुले विद्यालयका १२ जना शिक्षकहरुले प्रति शिक्षक एक÷एक जना विद्यार्थीको अभिभावकत्व लिएर अभियान सुरु गरिएको उनले बताए । सहयोगापेक्षी तोकिएका विद्यार्थीलाई निःशुल्क पोसाक र वर्षभरको स्टेशनरीबापत करिब ३ लाख रुपैयाँ आवश्यक पर्ने बताइएको छ । सो लक्ष्य पूरा गर्न विद्यालयले शैक्षिक अभिभावकत्व ग्रहण गराउने अभियान चलाइरहेको छ ।

जेठ मसान्तमा एक कार्यक्रमकाबीच शैक्षिक अभिभावकत्व ग्रहण गराइने विद्यालयको योजना छ । विद्यालयमा हाल एक सय ७० जना विद्यार्थी अध्ययनरत छन् । यसवर्ष मात्रै ७० जना विद्यार्थी थपिएका हुन् । शैक्षिक सत्र २०८१ मा नगरपालिकास्तरीय परीक्षामा कक्षा ५ मा ९०.९० % विद्यार्थी पास गराउन विद्यालय सफल भएको थियो । कक्षा ८ को नतिजामा समेत विगत बर्षहरु भन्दा उल्लेख्य सुधार भएको प्रधानाध्यापक अधिकारीले बताए । यस वर्षबाट अङ्ग्रेजी माध्यममा नर्सरी, केजी र १ कक्षा समेत सुरु भएको बताइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan