हेटौंडा। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ प्रदेशको ७ वटा पालिकामा मेगा किचेन सञ्चालन गर्ने योजनाअनुरुप हेटौंडाको एक सामुदायिक विद्यालयमा पनि मेगा किचेन सञ्चालन गरिने भएको छ ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले मेगा किचेन स्थापना र सञ्चालनसम्बन्धि कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई ५० लाखको दरले बजेट तथा कार्यक्रम पठाएको हो । नेपाल सरकारबाट संघीय सशर्त कार्यक्रमअन्तर्गत् स्थानीय तहको साझेदारीमा मेगा किचनको स्थापना र सञ्चालनका लगि ५० लाख छुट्याइएको हो ।
नगर शिक्षा समिति हेटौंडाको चैत ११ को निर्णयानुसार हेटौंडा–१७ स्थित बालबोध माध्यमिक विद्यालयमा मेगा किचनमार्फत् दिवाखाजा व्यवस्थापन गर्ने र उक्त कार्यलाई व्यवस्थित गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षको संयोजकत्वमा छिमेकी हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालय, हेटौंडा–१६ स्थित जनप्रिय माध्यमिक विद्यालय, हेटौंडा–१८ स्थित ज्योति माध्यमिक विद्यालय र गोरक्षनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु सदस्य, बालबोधका प्रधानाध्यापक सदस्यसचिव तथा सम्बन्धित विद्यालय हेर्ने विद्यालय निरीक्षक आमन्त्रित सदस्य रहने गरी मेगा किचन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको छ ।
मेगा किचन स्थापना र सञ्चालनसम्बन्धि कार्यक्रम कार्यसञ्चालन निर्देशिकाबमोजिम कार्यसञ्चालनका लागि संघीय सरकारबाट नमूना किचन सञ्चालनका लागि प्राप्त ५० लाख बालबोधलाई अनुदान निकासा उपलब्ध गराउने निर्णय नगरपालिकाले गरेको छ ।
मोरङको बिराटनगर महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, दाङको घोराही उपमहानगरपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा पनि मेगा मिचेन सञ्चालन हुनेछ । मेगा किचेन स्थापना कार्यसञ्चालन संहिताअनुसार गर्न केन्द्रले निर्देशन दिएको छ । मेगा किचेन भनेको स्थानीय तहभित्रका विद्यालयका विद्यार्थीलाई एकीकृत गरी खाजा खुवाउने कार्यक्रम हो । स्थानीय तहको साझेदारीमा मेगा किचन स्थापना र सञ्चालन शीर्षकमा ५० लाख रकम छुट्याइएको छ ।
स्थानीय पालिकाको सबभन्दा बढी विद्यार्थी भएको क्षेत्र रहेका कारण उक्त विद्यालय चयन गरिएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए । उपमहानगरपालिका शिक्षा निर्देशक सीताराम कोइरालाले मेगा किचन स्थापना र सञ्चालनका लागि करिब पाँच हजार विद्यार्थी हुनुपर्ने कार्यविधि भएको र उपमहानगरको उक्त क्षेत्रमा पाँच हजार २ सय विद्यार्थी भएका कारण उक्त स्थान छनौट गरिएको जानकारी दिए । थप कार्यविधि आइनसकेको र बजेटसंगै कार्यविधि आउने उनले बताएका छन् ।



