हेटाैँडा- संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) को राष्ट्रिय समितिमा मकवानपुरका पाँच जना शिक्षक निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न इष्टुको सातौँ राष्ट्रिय महाधिवेशनमा मकवानपुरबाट उपाध्यक्षसहित विभिन्न पदमा पाँच जना शिक्षकहरू चयन भएका हुन् । युनियनकाे उपाध्यक्षमा ज्ञानदीप शिक्षा निकेतन मावि, हेटाैँडा-५ का सहायक प्रधानाध्यापक दीपक गाैतम, उपमहासचिवमा साेलिड्यारिटी इन्टरनेसनल एकेडेमी, हेटाैँडा-१० का श्यामकृष्ण ज्ञवाली तथा सदस्यहरूमा हेटाैँडा माेडर्न आवासीय मावि, हेटाैँडा-९ का प्रधानाध्यापक सुदीप बर्ताैला, नवाेदय शिशु सदन, हेटाैँडा-४ का शिक्षक चन्द्रमणि (सीएम) रिमाल र ज्ञानदीप शिक्षा निकेतन माविका शिक्षक नवीनकुमार मिश्र निर्वाचित भएका हुन् ।
सातौँ महाधिवेशनले होमकुमार थापाको नेतृत्वमा ६१ सदस्यीय नयाँ राष्ट्रिय समिति चयन गरेको छ । समितिको सह–अध्यक्षमा डा. मोतीराम फुँयाल, देवीदत्त पौडेल र केशवराज पाठक चयन भएका छन् । यस्तै नारायण पौडेल र सरिता निरौला वरिष्ठ उपाध्यक्ष र भुपाल उप्रेती महासचिवमा चयन भएका छन् । महाधिवेशनले नयाँ समिति चयन गर्दै १४ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।
घोषणापत्रमा संस्थागत विद्यालयका शिक्षक–कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गर्ने तथा सरकारले तोकेको तलब, बिदा र अन्य सुविधा उपलब्ध गराउन माग गरिएको छ । त्यस्तै विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक सङ्घ गठन, शिक्षकको पेसागत विकासका लागि तालिम, निजी विद्यालयको लगानी संरक्षण, प्रभावकारी अनुगमन र नियमनका लागि अधिकारप्राप्त संयन्त्र निर्माण तथा संयन्त्रमा इष्टुको अर्थपूर्ण सहभागिता हुनुपर्ने माग गरिएको छ ।
इष्टुले शिक्षकहरूलाई विद्यालयस्तरीय आयोग, समिति, तालिम, गोष्ठी र छलफलमा अनिवार्य सहभागी गराउनुपर्नेमा जोड दिएको छ । साविकका शिक्षा ऐन नियमावलीमा व्यवस्था भएबमोजिम विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घ बनाउन र ऐनमा नबाझिने गरी विद्यालय सञ्चालन विनियमावली अनिवार्य बनाउन माग गरिएको छ ।



