हेटौंडा। हेटौंडा–९ का दामोदर अधिकारी लाखौं लगानी गरेर व्यवसाय सञ्चालन गर्न नपाएपछि मिडियामा आएका छन् । १० वर्ष जापान बसेर आफ्नै देशमा केही गर्ने जोश बोकेर फर्किए पनि स्थानीयले नै निरुत्साहित बनाएको उनले मिडियामार्फत् गुनासो पोखेका छन् ।
जापान बसेर आएको बताउने उनले व्यवसायमा करिब २० लाख लगानी गरिसकेको र हाल विद्युत्को तार लैजान नदिएका कारण काम रोकिएको बताउँछन् । सीडीओ र न्यायिक समिति सबै ठाउँमा धाइसकेपछि कसैले न्याय नदिएको भन्दै मिडियासमक्ष गुहार माग्न आइपुगेको उनी बताउँछन् । उनी भन्छन्–१० वर्ष जापान बसियो । आफ्नै देशमा केही गर्छु र अन्य युवालाई पनि रोजगारी दिएर नेपालमै बस्ने वातावरण बनाउँछु भन्दा मेरो खुट्टा तानेर लडाउन खोजे । कानुनले मान्यता दिएका कुरामा केही व्यक्तिले अख्तियारमा उजुरी दिएका कारण आफूले व्यवसाय गर्न नपाएको उनी सुनाउछन् ।
वडाले अधिकारीले आफ्नो व्यक्तिगत् स्वामित्वमा रहेको जग्गामा ईभी चार्जिङस्टेसन राख्ने प्रक्रिया अघि बढाएको एवम् विद्युत् प्राधिकरणले पोल गाड्नका लागि पोलसमेत खसालेको अवस्थामा स्थानीयले विरोध जनाइ वडा कार्यालयमा उक्त स्थानका छिमेकी रमादेवी पोखरेलसहित १३ जनाले हस्ताक्षर गरी विद्युत् लाइन जडान गर्दा जोखिम हुने भएकाले चार्जिङस्टेसन नराखियोस् भनी निवेदन पेश गरेका थिए ।
दुवै पक्षबीच छलफल गराउँदा सहमति हुन नसकेकाले नियमानुसार उक्त जग्गामा अधिकारीले ईभी चार्जिङस्टेसन राख्न पाउने वा नपाउने भन्ने विषयमा वडा कार्यालयबाट एकिन गर्न नसकिएको र उक्त विषयमा सम्बन्धित निकायसँग समन्वय गरी दुवै पक्षको निवेदनसाथ जेठ ९ गते हेटौंडा उपमहानगरपालिका कार्यालय पठाइएको थियो । सम्बन्धित निकायबाट कुनै पहल नभएको भन्दै अधिकारी पत्रकार सम्मेलन गर्न बाध्य भएको बताउँछन् ।

