हेटौंडा। हेटौंडाका सुनचाँदी व्यवसायीले बिहीबार र शुक्रबार व्यवसाय बन्द गर्ने भएका छन् । अर्थ मन्त्रालयबाट बजेट वक्तव्यमार्फत् सुन, हीरा तथा बहुमूल्य पत्थरलाई विलासिता वस्तुका रुपमा जोडेर थप असहज व्यवस्था गरिएकाले सुन, चाँदी , हीरा तथा बहुमूल्य पत्थर व्यवसायीदेखि आमउपभोक्तालाई थप करको मारमा पार्ने भएकाले सुनचाँदी पसल तथा ज्यासल बन्द हुने पत्रकार सम्मेलनमार्फत् सुनचाँदी व्यवसायी संघ मकवानपुरले जानकारी दिएको हो ।
दुई दिन आआफ्नो पसल/व्यवसाय बन्द गरी विरोधस्वरुप बजार परिक्रमा गर्दै कोणसभा गरी समापन गर्ने निर्णय भएको संघ अध्यक्ष पवनकुमार शाक्यले जानकारी दिए । मकवानपुरमा २ सय ३५ सुनचाँदी पसल छन् भने हेटौंडा बजारमा २ सय सुनचाँदी पसल छन् । संघले विरोध र्याली निकालेको थियो ।
हेटौंडामा मात्र नभइ देशभर सुनचाँदी व्यवसाय बन्द हुनेछ । हेटौंडाका सुनचाँदी व्यवसायीले नयाँ बजेटमा सुन, बहुमूल्य पत्थर र गरगहनामा लगाइएको करको विरोधमा आन्दोलन सुरु गरेका हुन् । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् सुनका गरगहनामा २ प्रतिशत् विलासिता कर र हीरा तथा अन्य बहुमूल्य पत्थरमा १३ प्रतिशत् मूल्य अभिवृद्धि कर (भ्याट) लागु गरेपछि व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
मकवानपुर सुनचाँदी व्यवसायी संघले हेटौंडामा शान्तिपूर्ण विरोध र्यालीसहित जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ध्यानाकर्षण गराएको छ । विरोधस्वरुप बुधबार पनि मकवानपुरका सुनचाँदी पसल बन्द रहे । संघ अध्यक्ष शाक्यको नेतृत्वमा व्यवसायी टोलीले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
‘विलासिता कर र भ्याटका कारण व्यवसाय प्रभावित हुन थालेको छ,’ अध्यक्ष शाक्यले भने –हामी यसप्रति गम्भीररुपमा असन्तुष्टि जनाउँदै सरकारलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गर्छौं । आवश्यक परे देशभरका व्यवसायी मिलेर थप सशक्त आन्दोलन गर्ने तयारीमा छौं,’ उनले थपे । व्यवसायीको भनाइमा सरकारको कदमले मूल्यवृद्धि निम्त्याउने, उपभोक्ताको क्रयशक्ति घटाउने र पारम्परिक व्यवसाय तहसनहस पार्ने देखिएको छ । सरकारले व्यवसायीका माग कतिको गम्भीरतापूर्वक लिन्छ भन्ने कुराले आगामी आन्दोलनको स्वरुप निर्धारण गर्ने संघले जनाएको छ ।

