हेटौँडा–बागमती प्रदेशका सामुदायिक विद्यालयहरुमा विगतका वर्षहरुबाट निरन्तर रुपमा विस्तार गर्दै लगिएको एक विद्यालय एक नर्स कार्यक्रम आगामी आर्थिक वर्षमा पनि निरन्तरता हुने भएको छ । एक विद्याय एक नर्स कार्यक्रम सञ्चालन तथा विस्तारका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ४२ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट वक्तव्यमा सबै नीतिमा स्वास्थ्य अवधारणा नीतिलाई निरन्तरता दिने बताउँदै एक जिल्ला स्वास्थ्य सहर र एक स्थानीय तह एक नमूना स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गरिने बताए ।
प्रदेशले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम, आधारभूत अस्पतालहरुमा आकस्मिक सेवाका साथै विशेषज्ञ अस्पतालसँग टेलिमेडिसिन सेवा सञ्चालन गर्ने योजना पनि बजेटमार्फत घोषणा गरेको छ । क्यान्सर विरामीलाई उपचार सेवाको निरन्तरता र महिलाको पाठेघरको क्यान्सरको थप उपचारको सहुलियतसमेको लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । ज्यान जोखिममा रहेका गर्भवती र सुत्केरीको हवाई उद्दारलाई पनि प्रदेशले निरन्तरता दिने जनाएको छ ।

