Search
Close this search box.

हेटौँडा उपमहानगरपालिकाको बजेट २ अर्ब ९० करोड

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट नगरसभामा पेश गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले मंगलबारको नगरसभामा चालु वर्षको तुलनामा करिब ६ करोड बढी आम्दानी र खर्चको अनुमानित विवरण नगरसभामा पेश गरेका हुन् ।

उपमहानगरले चालु वर्षमा हिउँदे अधिवेशनबाट संशोधनसहित २ अर्ब ८४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिहेको छ । उपमहानगरले सडक, खेल मैदान, उर्जा, सडक बत्ती, जलस्रोत, भवन तथा आवास सिञ्चाईलगायत नगरस्तरीय पूर्वाधार विकासका लागि ६८ करोड ३९ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै वडास्तरीय याृजना तथा कार्यक्रमका लागि ३२ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ । आर्थिक विकास क्षेत्रका कार्यक्रम कार्यान्वयन गर्न ४ करोड ६९ लाख रुपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख बानियाँले बताए ।

उपमहानगरले कार्य सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनका लागि ५९ करोड ६५ लाख रुपैयाँ र सुशासन तथा संस्थागत विकासतर्फ ३ करोड ८८ लाख रुपैयाँ बजेट छुट्याएको छ । महिला, बालबालिका तथा समावेशीकरण र ज्येष्ठ नागरिकका कार्यक्रमका लागि १ करोड ३३ लाख ३५ हजार रुपैयाँ बजेट छुट्र्याके उपमहानगरपालिकाले हेटौँंडा अस्पतालमा निर्माणाधीन बाल एन.आई.सि.यु./पि.आई.सि.यू. सेवा सञ्चालन गर्नका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

शिक्षा क्षेत्रभित्रका योजना तथा कार्यक्रमका लागि ५ करोड ५१ लाख रुपैयाँ, स्वास्थ्य क्षेत्रका योजना तथा कार्यक्रमका लागि २ करोड ७८ लाख बजेट विनियोजन गरेको छ । हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मेघा विद्यालय पूर्वाधार निर्माण (बहुवर्षीय योजना) का लागि विद्यालयको ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । संस्कृति प्रवद्र्धन कार्यक्रम तथा योजना सञ्चालन गर्न १ करोड २० लाख छुट्याइएको छ भने हेटौँडाको न्यायिक समिति सञ्चालन तथा व्यवस्थापनका लागि ७५ लाख छुट्याइएको छ । सामाजिक विकास अन्तर्गत योजना तथा कार्यक्रमका १६ करोड ८३ लाख रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लृख छ ।

हेटौँंडाले वन, वातावरण विपद् व्यवस्थापन कोष र वातावरण विकास कोषको लागि ६ करोड २० लाख रुपैयाँ छुट्याएको छ भने हरियाली, वृक्षारोपण तथा रंगरोगन, सफा हेटौँडा, जलवायु, वन तथा भूसंरक्षण, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण र जल उत्पन्न प्रकोप नियन्त्रण, फोहोर मैला व्यवस्थापन, ढल तथा नाला पूर्वाधार, खानेपानी सरसफाईतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ३ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

खेल क्षेत्रमा पनि उपमहानगरले २ करोड ५५ लाख रुपैयाँ खर्चने योजना बनाएको छ । उद्योग, वाणिज्य तथा सहकारीतर्फ ९८ लाख ३६ हजार व्यवस्था गरेको छ । उपमहानगरले आगामी वर्षको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ६२ करोड ७६ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । उपमहानगरले खर्च बेहोर्नको लागि नगर विकास कोषबाट ३ करोड ६० लाख रुपैयाँ ऋण लिनेसमेत बजेट वक्तव्यमा उल्लेख छ ।
राजस्व बाँडफाँडबाट ९२ करोड ७० लाख ५५ हजार र प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ । यस्तै संघीय सरकारबाट १ अर्ब १९ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan