हेटौँडा : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुरका ४६ दशमलव ८६ प्रतिशत विद्यार्थी मात्र उच्च शिक्षा अध्ययनकाे लागि याेग्य ठहरिएका छन् । ५ हजार ८ सय ८७ जना विद्यार्थीले यश वर्ष एसईई परीक्षा दिएकाेमा २ हजार ७ सय ५९ जना मात्रै ग्रेडेड भएका हुन् । ३ हजार १ सय २८ जना विद्यार्थी ननग्रेडेड लिस्टमा छन् ।
जिल्लामा २०८१ काे एसईई परीक्षामा ५ जनाले ४ जिपिए प्राप्त गरेका छन् । ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी संख्या ३ सय ७८ जना छन् । ३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने ८ सय २ जना रहेकाेमा २.८ जीपीएदेखि ३.२ जीपीए ल्याउने ९ सय ८१ जना रहेकाे जिल्ला शिक्षा समन्वय ईकाई मकवानपुरले जनाएकाे छ । २.४ जीपीएदेखि २.८ जीपीए ल्याउनेकाे संख्या ५ सय ३९ रहेकाेमा २.० जीपीएदेखि २.४ जीपीए ल्याउने ५४ जना छन् ।
४ जिपिए ल्याउने ५ जनामध्ये हेटौँडा–४ स्थित नवोदय शिशु सदनका २ जना, हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, हेटौँडा–५ स्थित बालज्योति मावि र हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका १/१ जना रहेका छन् ।
नवोदय शिशु सदनका विमर्श श्रेष्ठ र अनुषा उप्रेती, बालजागृतिकी अनुप्रस्था देवकोटा, बालज्योतिकी अस्मिता घिमिरे र सोलिड्यारिटीका सचिन कुमार यादवले ४ जिपिए ल्याएका हुन् । एसईई दिएका मकवानपुरगढीस्थित शारदा माविका २५ जना सहभागी विद्यार्थीमध्ये शत प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।
त्यस्तै ५० जनाभन्दा बढी विद्यार्थी सहभागी विद्यालयमध्ये हेटाैँडा ९ स्थित प्रगति माविका ८१ दशमलव ३६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । प्रगतिबाट ११८ जनाले एसईई दिएकाेमा ९६ जना ग्रेडेड भएका हुन् ।



