Search
Close this search box.

भोटेकोशी बाढीको कहरः उद्धार र राहतमा खटिन काँग्रेसको आग्रह

हेटौँडा– भारी वर्षासँगै रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको धनजनको क्षतिप्रति नेपाली काँग्रेस बागमती प्रदेश समितिले दुःख व्यक्त गरेको छ । नेपाली काँग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मंगलबार विज्ञप्ति जारी गर्दै घटनामा उद्धार र राहतका साथै थप मानवीय भौतिक क्षति हुनबाट रोक्नका लागि सबै क्षेत्रबाट यथाशीघ्र खटिन आग्रह गरेका हुन् ।

बाढीबाट प्रभावित रसुवा जिल्ला लगायत प्रभावित क्षेत्रका नेपाली कांग्रेस पार्टीका स्थानीय, क्षेत्रीय, जिल्ला, प्रदेशतहका विभिन्न जिम्मेवारीमा रहेका भातृ तथा शुभेच्छुक संगठनका नेता तथा कार्यकर्तालाई सम्वर्क बिहिनको खोजी, प्रभावितको उद्धार र राहतमा यथाशीघ्र खटिन काँग्रेस बागमती प्रदेशले निर्देशनसमेत दिएको छ । राहतमा खटिएका तीनै तहका सरकारी संयन्त्रलाई विशेष सहयोग गर्दै बाढीमा परेका र पर्नसक्ने थप जोखिमका क्षेत्रको पहिचान गर्दै सुरक्षित क्षेत्रमा स्थानान्तरण गराउने कार्यमा लाग्न काँग्रेसले सबै कार्यकर्तामा निर्देशन जारी गरेको हो । प्र्राकृतिक प्रकोपमा परी जीवन गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा काँग्रेसले समवेदना प्रकट गरेको छ । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

रसुवाको भोटेकोशी नदीमा मंगलबार बिहान आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । प्राकृतिक विपद्बाट मंगलवार बिहानसम्म धादिङको त्रिशुली नदीमा २ जनाको शव भेटिएको छ । तीन प्रहरी, ६ जना चिनियाँ नागरिक सहित १८ जना सम्पर्कविहीन भएका छन् । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल एवम् भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य गाडी बगाएको छ । १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एउटा गेट बाढीले बगाएको छ । त्यस्तै ६० मेगावाट क्षमताको त्रिशूली ३ ए र ३ बी आयोजनामा समेत क्षतिपुगेको छ । विपदका कारण सरकारी, सामुदायिक र व्यक्तिगत गरी ठुलो भौतिक सम्पत्तिमा क्षति पुग्नुका साथै नेपाल–चीन जोड्ने सडक सञ्जाल अवरुद्ध भएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan