जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले आफ्नो जन्मदिनमा सधैँ पुस्तक वितरण गरेर मनाउने गरेका छन् । उनको तर्क छ, खाना खुवाउँदा जति पैसा जान्छ त्यो एक छाकका लागि हुन्छ तर पुस्तक भए त्यो जीवन्त बन्दोरहेछ । १ सय ४५ पुस्तक विद्यालयको रिडर्स क्लवलाई हस्तान्तरण गरेपछि चौलागाईले भने । अघिल्ला सालहरूमा समेत पुस्तक हस्तान्तरण गर्दै आएका चौलागाईले ती पुस्तकहरू जनप्रिय रिडर्स क्लब मातहत रहनेगरी विद्यालयलाई उपलब्ध गराएपछि यो प्रतिक्रिया दिएका हुन् ।
यस वर्ष मात्रै नयाँ कार्यकालका लागि केहि दिन अघि मनोनित भएकी जनप्रिय रिडर्स क्लबकी अध्यक्ष शिक्षा गौतमलाई पुस्तक हस्तान्तरण गर्दै चौलागाईँले एक कार्यक्रममा यस्तो बताएका हुन् । जनप्रियले चालेको अभियानले विद्यार्थीहरूको मानसिक क्षमतामा अभिवृद्धि गर्ने, पठन संस्कृतिले डिजिटल डिभाइसको ज्यादा प्रयोगलाई विस्थापन गर्ने, तार्किक क्षमतामा वृद्धि गर्दै वैयक्तिक विकासमा योगदान पुर्याउनेमा आफू विश्वस्त रहेको चौलागाईले बताए ।

१६ नम्बर वडाका वडा सदस्य गुरूप्रसाद ढकाल, विव्यस अध्यक्ष मोहनप्रसाद बस्ताकोटी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष गीताप्रसाद दुलाल, विभिन्न समितिका सदस्य तथा शिक्षकहरूका साथ पुस्तक हस्तान्तरण कार्यक्रम गरिएको छ । जनप्रिय अतिरिक्त विभाग संयोजक युक्तलाल विश्वकर्माले शुभकामनासाथ भने पुस्तकले सूचना र ज्ञानगुनका कुरा दिने अनि भविष्यको मार्गदर्शन गर्ने बताउँदै विद्यार्थीहरूलाई धेरै सुन्न पढ्न र थोरै अनि आवश्यक बोल्नका लागि सन्देश दिनेछ ।
जनप्रिय माविमा साहित्य तथा बौद्धिक विभाग संयोजकका रुपमा काम गरिरहेका संप्रस पौडेलले रिडर्स क्लवको अवधारणा अघि सारेका हुन् । यो अभियान अहिले संभवत: सामुदायिक विद्यालय मध्ये जिल्लामै पहिलो तथा उत्कृष्ट कार्यको रुपमा अघि बढेको छ । समितिका हरेक सदस्य, शिक्षक तथा विद्यार्थीको जन्मदिनमा यसरी पुस्तक हस्तानरण गर्ने जिल्लामै यो पहिलो विद्यालय हो । यसैक्रममा विव्यस अध्यक्ष मोहनप्रसाद वस्ताकोटीले आफ्नो जन्मदिनमा अघिल्लो वर्ष रु १० हजार बराबरको पुस्तक जनप्रिय रिडर्स क्लवलाई हस्तान्तरण गरेका थिए । विद्यालयका प्रधानाध्यापक चौलागाईले पनि यो वर्ष हस्तान्तरण गरेको पुस्तक अघिल्लो वर्ष झै झण्डै १३ हजार बराबर रहेको छ ।
साहित्य तथा बौद्धिक विभाग र मिडिया विभागको संयोजनमा जनप्रिय माविले प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार विद्यालयका बालबालिकाको बौद्धिक सञ्चार संवर्धन सम्बन्धी कार्यक्रम संञ्चालन हुँदै आएको प्रधानाध्यापक चौलागाईले बताए । संयोजक संप्रस पौडेलले पठन संस्कृतिको खास रूप नै कक्षाको लाइब्रेरी रहेकोले पुस्तकहरू कक्षा-कक्षामैँ रहनेगरी उपहार प्राप्त हुने क्रम बढ्दै गएको बताए । यसले विद्यार्थीहरूमा पढ्ने र त्यसबारे छलफल गर्ने आनिबानीको विकास भएको उनको दावी छ । जनप्रियमा प्रत्येक महिनाको एकपटक विद्यार्थीले पढेका पुस्तकको समीक्षा हुने र त्यसको मिडिया डकुमेन्टेशन समेत हुनेगरेको छ । आज महिनाको पहिलो शुक्रबार सम्बृद्धी गौतम, समीक्षा थापा, रोजिना तिल्सिना र शिवानी तिमल्सिनाको पुस्तक समीक्षा जनप्रियको अफिसियल पेजमा भिडियो सार्वजनिक हुने जनप्रिय मिडिया विभाग संयोजक सुनिल गौतमले बताए ।



