बुटवल– दाङमा घरायसी बिवादमा आफ्नी श्रीमतीको हत्या गरेका छन् । दाङको बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीका ३८ वर्षीय जागेश्वर पुनले ५० वर्षीया श्रीमती गोमा पुनको कुटपिट गरी हत्या गरेका हुन् ।
गोमा र श्रीमान् जागेश्वर पुन दुवैले मदिरा सेवन गरी बसिरहेको अवस्थामा शुक्रबार साँझदेखि उनीहरूबीच भनाभन सुरु भएको थियो । विवाद चर्किँदै जाँदा राति १० बजे श्रीमान् पुनले लठ्ठीले प्रहार गर्दा गोमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
“उनीहरू दुवैले मदिरा सेवन गरेको खुल्न आएको छ । स्थानीयका अनुसार श्रीमान्–श्रीमतीबीचमा हिजो साँझदेखि नै विवाद चलिरहको थियो । राति विवाद चर्किएपछि लठ्ठीले हानेको देखिन्छ,” डीएसपी शाहले भने ।
उनीहरूबीच लामो समयदेखि घरायसी झगडा हुँदै आएको र पछिल्लो समय मादक पदार्थ सेवनपछि झगडाले उग्ररूप लिँदा हत्याको अवस्था सृजना भएको देखिएको डीएसपी शाहले जानकारी दिए । घटनापछि प्रहरीले हत्या आरोपी पुनलाई घटनास्थलबाटै पक्राउ गरिसकेको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी शाहले बताए ।
मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । प्रहरीका अनुसार पुनसँग गोमाको तेस्रो बिहे थियो । जागेश्वरको दोस्रो विवाह हो । उनीहरूको विवाह भएको एक वर्ष पनि भएको थिएन ।

