हेटाैँडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई नेपाली काँग्रेस संसदीय दलकाे नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
केहीबेरअघि नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हाे । अविश्वासको प्रस्तावमा नेपाली काँग्रेसबाट हाल प्रतिनिधित्व गरिएका ४ मन्त्रीसहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन् ।
आव ०८२/०८३ को बजेट निर्माणका क्रममा भएकाे विवाद चुलिएपछि काँग्रेसमा मुख्यमन्त्री फेरबदलकाे मनस्थितिमा कांग्रेस सांसदहरु पुगेका थिए । कांग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । लामालाई मुख्यमन्त्रीबाट हटाउनकाे लागि संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हाे ।
अविश्वास प्रस्ताव दर्ता गर्नुअघि काँग्रेसबाट प्रतिनिधित्व गरेका ४ मन्त्रीले राजीनामा दिएका छन् । सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका हुन् । उनीहरुले मुख्यमन्त्री बहादुरसिं लामालाई राजीनामा पत्र ह्वाट्सएपमा पठाएकाे बताएका छन् ।

