Search
Close this search box.

बागमतीमा लामाविरुद्धको अविश्वास प्रस्तावमाथि आज टुङ्गो लाग्दै

हेटौंडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामामाथि पार्टी संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि आज प्रक्रिया सुरु भई टुङ्गो लाग्ने भएको छ । प्रदेशका मुख्यमन्त्रीसमेत रहेका लामामाथिको अविश्वासको प्रस्ताव प्रक्रियामा पुगी बहुमत सांसदहरुले अविश्वासको पक्षमा मतदान गरेमा लामाले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने बाध्यात्मक अवस्था रहनेछ । कांग्रेस संसदीय दलका सचिवसमेत रहेका सांसद कृष्ण तामाङले आज १० बजेबाट अविश्वास प्रस्तावमाथिको प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

साउन ९ गते कांग्रेस संसदीय दलको कार्यालयमा २१ जना बहुमत सांसदले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावमा इन्द्रबहादुर बानियाँलाई नयाँ दलको नेता चयन गर्न प्रस्ताव गरिएको छ । सोमबार राती अबेरसम्म भएको छलफलपछि मुख्यमन्त्री बहादुरसिंह लामा र ईन्द्रबहादुर बानियाँ पक्षबीच आज मंगलबार १० बजेबाट अविश्वास प्रस्तावलाई प्रक्रियामा अगाडि बढाउने सहमति भएको थियो । सोमबार दिनभर भएको छलफलमा बानियाँ पक्षले यसलाई तत्कालै टुंग्याउनुपर्ने अडान लिएको थियो ।

मुख्यमन्त्री लामा पक्षले भने दक्षिण कोरिया भ्रमणबाट आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्ले सोमबार राति स्वदेश फर्किने भएकोलगायतका कारण देखाएर अविश्वास प्रस्ताव माथिको प्रक्रियालाई पछाडि धकेल्न खोजेको थियो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलभित्र अघि बढेको आन्तरिक प्रक्रियालाई सहमतिमा टुंग्याउने प्रयास भइरहेको सांसद बानियाँले बताए ।

पार्टी केन्द्रबाट खटिएका प्रतिनिधि केन्द्रीय सदस्य राजन केसी र प्रदेशका सांसदहरुबीच आन्तरिक प्रक्रियालाई निश्कर्षमा पुर्‍याउन सोमबार दिनभर संवादबाट समस्या समाधान गर्न सकिने विश्वासका साथ प्रयास गरिएको उनको भनाइ थियो । संसदीय दलको कार्यालयले १० बजेपछि अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुको सनाखतको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । अविश्वास प्रस्तावको मतविभाजनबाट दलमा अल्पमत परेसँगै लामा मुख्यमन्त्री छोड्नुपर्ने नैतिक दबाबमा पर्छन् । मतविभाजनबाट बहुमत सांसदलाई पुनस् आफ्नो पक्षमा पार्न सके उनी दलको नेता नै कायम रहनेछन् । प्रदेशसभामा कांग्रेसको ३७ सांसद छन् । दलको नेता हुन १९ जना सांसदको समर्थन भए पुग्छ ।

तत्कालीन मन्त्रीहरु सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, विमल ठकुरी, मदुकुमार श्रेष्ठले राजीनामा दिएर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेपछि मुख्यमन्त्री लामा संकटमा परेका थिए । उनीहरुको राजीनामामाथि कुनै कारबाही नगरी मुख्यमन्त्री लामाले सोही दिन साँझ पदमुक्त गरेको पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पठाएका थिए । लामामाथिको अविश्वासको प्रस्ताव पारित भई ईन्द्रबहादुर बानियाँ नै दलको नेता भएमा बानियाँको मुख्यमन्त्रीको यात्रा अघि बढ्ने निश्चित देखिन्छ । नेपाली कांग्रेसको विधानमा संसदीय दलको नेता नै प्रधानमन्त्री वा मुख्यमन्त्री हुने व्यवस्था छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan