हेटौँडा– बागमती प्रदेश सरकारको नेतृत्व फेरबदलको गरमागरम चलिरहेको बेला प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम बहादुर खड्काले राजीनामा दिएका छन्। मन्त्री खड्काले मंगलबार मुख्यमन्त्री बहादुर सिंह लामा समक्ष राजीनामा बुझाएका हुन् । कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता बहादुर सिंह लामा विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मत विभाजन गर्ने तयारी भइरहेका बेला उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
मन्त्री पदबाट राजीनमा दिएका खड्काले कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँलाई समर्थन गर्न लागेका हुन् । यसअघि दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका खड्काले अहिले मन्त्री पदबाट राजीनामा दिएर संसदीय दलको मत विभाजन हुने क्रममा मुख्यमन्त्री बहादुरसिं लामाको विपक्षमा उभिन लागेको बुझिएको छ ।
यसअघि २०७९ पुस १३ गते भएको संसदीय दलको निर्वाचनमा खड्काले लामालाई समर्थन गरेका थिए । यो सँगै बागमतीमा राजीनामा दिने कांग्रेसका मन्त्रीको सङ्ख्या ५ पुगेको छ । यसअघि शुक्रबार प्रदेशका सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले राजीनामा दिएका थिए । बागमतीमा काँग्रेसबाट मुख्यमन्त्रीसहित ८ जना सरकारमा थिए ।


