काठमाडौं– उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले सोमबार उक्त आदेश दिएको हो। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ को आधारमा धरौटीमा रिहा गर्ने निर्णय गरेको हो।
प्रसाईंले आफू क्यान्सर रोगबाट पीडित रहेको प्रमाण अदालतमा पेस गरेका थिए। उक्त प्रमाणको आधारमा थप छानबिन जारी रहने भन्दै अदालतले उनलाई २५ लाख रुपैयाँ धरौटी वा सोही मूल्य बराबरको बैंक जमानत बुझाएर रिहा गर्न आदेश दिएको हो।
आदेशमा भनिएको छ, “निज क्यान्सर रोगबाट पीडित रहेको प्रमाण देखिन आएको हुँदा हाललाई रु. २५,००,०००।– नगद धरौटी वा बैंक जमानत लिएर मुद्दाको पूर्पक्षका लागि तारेखमा राख्नु।”
केही प्रतिक्रिया छ कि ?


