बामगती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले उत्तरदायी, जिम्मेवार र पारदर्शी भई निष्पक्षताका साथ जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार बिहान नेपाली काँग्रेस बागमती प्रदेश समितिले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै नेता बानियाँले जनतालाई न्याय, शान्ति र विकास दिन आफू र आफ्नो मन्त्रि मण्डल प्रतिवद्ध रहेको बताए ।
‘राजनीति सेवा र धर्म हो । राजनीति व्यापार हैन । व्यापारमा नाफा नोक्सान हुन्छ, तर, राजनीतिमा न्याय हुन्छ । हामीले जनतालाई न्याय दिन, शान्ति दिन विकास दिनको लागि राजनीति गरेको हो ।’ बानियाँले भने –‘त्यो बाटोमा हामी एक दिन पनि नअल्मल्लिइकन ठिक र सत्य, न्याय र इन्साफ गरिबको निमुखाको सर्वसाधारणको पक्षमा उत्तरदायी, जिम्मेवार, पारदर्शी र जवाफदेही भएर निष्पक्ष सक्रिय रुपमा काम गर्ने प्रतिवद्धता जनाउँदछु ।’
आफूले मुख्यमन्त्री हुँदा प्राप्त गर्ने तलब भत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका गरिब र विपन्न परिवारका घर निर्माण गरिदिने पनि बानियाँले घोषणा गरे । मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित बानियाँले विपन्न र असहाय नागरिकको पहिचान गरी आफ्नो तलब भत्ताको रकमले घर बनाउने प्रतिवद्धतासमेत व्यक्त गरे । नेपाली काँग्रेस बागमती प्रदेशले प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँसहित पार्टीबाट मन्त्री बनेकाहरुलाई स्वागत गरेको हो । मुख्यमन्त्री बानियाँसहित खानेपानी, उर्जा तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङ र विना विभागी मन्त्री शिवराज अधिकारीलाई स्वागत, सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।
हेटौँडाको सानोपोखरामा रहेको नेपाली काँग्रेस बागमती प्रदेश पार्टी कार्यालयमा बुधबार पार्टी प्रदेश उपसभापति चन्द्र महर्जनलगायतले पार्टी सभापतिसमेत रहेका मुख्यमन्त्री बानियाँलगायत मन्त्रीहरुलाई स्वागत गरेका हुन् । कार्यक्रममा पार्टी महामन्त्री कञ्चनचन्द्र बादेले स्वगत मन्तव्य व्यक्त गरेका थिए ।


