Search
Close this search box.

मकवानपुरको बाघझोरा खोलाको दिर्घकालीन समाधानका लागि सांसद बतौलाको पहल


हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बतौलाले त्रिभुवन राजमार्ग अन्तर्गत हेटौंडा–भैसे सडक खण्डमा पर्ने बाघझोरा खोलाको बारम्बारको समस्या समाधानका लागि उच्च तहमा पहल गरेका छन्।

सोमबार उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवन्द्र दाहाल र मन्त्रालयका सचिव केशव कुमार शर्मालाई भेटी ज्ञापनपत्र बुझाउँदै बाघझोरा खोलाले निम्त्याइरहने सडक अवरोधको दीर्घकालीन समाधान तत्काल खोज्न आग्रह गरेका हुन्।

सांसद बतौलाले “बाघझोरा खोलामा आउने खहरे बाढीले बारम्बार सडक अवरुद्ध गर्ने भएकाले अब स्थायी समाधान खोजिनुपर्ने” भन्दै ओभरपास वा अण्डरपास कुन उपयुक्त हुन्छ भन्ने विषयमा तत्काल प्राविधिक अध्ययन सुरु गर्न मन्त्री दाहाल र सचिव शर्मासँग विशेष आग्रह गरेका थिए।

उनका अनुसार, मन्त्री दाहालले समस्या समाधानलाई मन्त्रालयले उच्च प्राथमिकतामा लिने प्रतिबद्धता व्यक्त गर्दै अध्ययन प्रक्रियालाई अगाडि बढाउन सचिवलाई आजै निर्देशन दिएका छन्।

“यो केवल मकवानपुरबासीको मात्र नभई त्रिभुवन राजमार्ग भएर देशका विभिन्न भागमा यात्रा गर्ने सम्पूर्ण यात्रुहरूको साझा समस्या हो,” सांसद बतौलाले भने, “थोरै वर्षा हुँदा समेत खहरे बाढीले घण्टौँ सडक बन्द हुने समस्या अब दीर्घकालीन रुपमा अन्त्य हुनुपर्छ।”

हालै केही दिन अघि पनि बाघझोरा खोलामा आएको बाढीका कारण सयौँ सवारी साधन अवरुद्ध भएर हजारौँ यात्रुले सडकमै रात बिताउनुपर्ने अवस्था सिर्जना भएको थियो। स्थानीयबासी र यात्रुहरूले पटक–पटक सरोकारवाला निकायलाई जानकारी दिँदै आए पनि स्थायी समाधानका लागि ठोस पहल नभएको भन्दै गुनासो गर्दै आएका छन्।

सांसद बतौलाले ज्ञापनपत्रमार्फत मन्त्री दाहाललाई अविलम्ब मातहतका निकायलाई निर्देशन दिई प्राविधिक अध्ययन र आवश्यक संरचना निर्माणको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan