हेटौंडा।चेपाङ समुदायको समृद्ध सँस्कृति, परम्परा र ऐतिहासिक धरोहरलाई सुरक्षित राख्न र भावीपुस्तालाई चिनाउन मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–५, चैनपुरमा बनेको चेपाङ संग्रहालय निर्माण कार्य सम्पन्न भएको छ।
तीनतले संग्रहालय भवनको निर्माण कार्य सम्पन्न गरिएको र छिटै संचालन आउने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् । ३ करोड ६३ लाख लागत अनुमान गरिएको संग्रहालय भवन स्थानीय तह, संघीय सरकार र दातृ निकायको सहकार्यमा निर्माण भएको हो । संग्रहालयको तल्लो तलामा चेपाङ समुदायले अतीतदेखि प्रयोग गर्दै आएका र हाल लोपोन्मुख अवस्थामा पुगेका सामग्रीहरु प्रदर्शनीमा राखिनेछन् ।
ती प्रमुख वस्तुहरुमा एकपाखे ढ्यांग्रो (परम्परागत् वाद्ययन्त्र), चमेरोका थुन्से (शिकारमा प्रयोग हुने औजार), गुलेली, तीर–धनुष र चिउरीको घिउ राख्ने भाँडाहरु र अन्य घरायसी र साँस्कृतिक सामग्रीहरु हुनेछन् । यी सामग्रीहरुले चेपाङ जनजीवन, धार्मिक आस्था, शिकार परम्परा र जीविकोपार्जनका तरिका प्रष्ट पार्नेछन् ।
२०७२ सालको भुकम्पले पुरानो संग्रहालय भवनमा क्षति पु¥याएपछि त्यसमा रहेको सामग्रीलाई सुरक्षित राखिएको थियो । हाल ती नै सामग्रीहरुलाई पुनः संग्रह गरी व्यवस्थितढंगले नयाँ भवनमा प्रदर्शन गरिने तयारी गरिएको हो । संग्रहालयले चेपाङ समुदायको विगत, वर्तमान र भावी सम्भावनालाई एकै स्थानमा जोड्ने महत्वपूर्ण काम गर्नेछ ।
नेपाल चेपाङ संघ अध्यक्ष गोबिन्दराम चेपाङका अनुसार संग्रहालय पुनर्संञ्चालनमा आएपछि समुदायको पहिचान, अस्तित्व र इतिहासको दस्ताबेज बन्नेछ । यो केवल संग्रहालयमात्र होइन, हाम्रो गौरव र आत्मसम्मानको प्रतीक पनि हो । स्थानीय, युवा तथा जनप्रतिनिधिहरु संग्रहालयको निर्माणप्रति उत्साहित देखिएका छन् । यसले स्थानीय पर्यटन प्रवद्र्धन गर्ने, शैक्षिक अध्ययनको स्रोतकेन्द्र बन्ने र साँस्कृतिक जागरणमा टेवा पु¥याउने विश्वास गरिएको छ ।
राक्सिराङको चेपाङ संग्रहालय केवल भौतिक संरचना निर्माणको योजना होइन, यो एक समुदायको इतिहास, सँस्कृति र आत्मसम्मान जोगाउने साझा सपना हो । चेपाङहरुको मौलिकता अब केवल गाउँमा सीमित नरहने, बरु देश र विदेशका पर्यटक, अनुसन्धानकर्ता र विद्यार्थीहरुका लागि साँस्कृतिक ज्ञानको जीवित थलो बन्नेछ ।
चेपाङहरु नेपालमा अतिसीमान्तकृत समुदाय र जनजातिमा पर्छन् । सरकारले सूचीकृत गरेको र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सूचीका ५९ आदिवासी जनजातिमध्ये एक हुन् चेपाङ । मकवानपुरमा १९ हजार २ सय ३३ चेपाङ छन् । जिल्लाको जातिगत् हिसाबमा चेपाङ पाँचौं स्थानमा छन् । छिमेकी चितवनको कुल जनसंख्यामा चेपाङको संख्या सातौं स्थानमा छ । धादिङमा १४ हजार ४ सय ९२ छन् । जिल्लामा जातिगत् हिसाबले चेपाङ आठौं स्थानमा पर्छन् । गोरखामा चेपाङको जनसंख्या ३ हजार ४ सय ५४ छ । जातिगत् हिसाबले जिल्लामा १३ औं स्थानमा चेपाङ छन् । २०७८ को जनगणनाअनुसार ८४ हजार ३ सय ६४ चेपाङ जनसंख्या छ ।
राज्यको मुलप्रवाहीकरणमा प्रतिनिधित्व सुनिश्चिततासहित चेपाङको आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि चेपाङ स्वायत्त क्षेत्र निर्माण गर्ने प्रावधानसहित नेपालको संविधानमा स्वायत्त क्षेत्रको परिकल्पना भएकोले हाल बसेको ठाउ“मा भन्दा पनि सीधै स्वायत्त क्षेत्रतर्फ जानुपर्ने माग गरिएको छ । आव २०५५/०५६ देखि चेपाङ संरक्षित क्षेत्र हुनुपर्दछ भनेर माग गर्दै आइरहेको छ ।
संविधानले स्थानीय तहले पर्यटन तथा साँस्कृतिक क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा गर्नसक्ने अधिकार दिएको छ । चेपाङ समुदायको बसोबास भएको ठाउँमा परम्परागत्रुपमा उपलब्ध स्रोतसाधनमाथि उनीहरुको स्वामित्व र नियन्त्रण कम छ । खाद्यसुरक्षामा चेपाङ समुदाय अत्यन्त असुरक्षामा बाँच्छन् । प्राकृतिक विपत्तिबाहेक सामान्य अवस्थामा चेपाङ परिवारमा आफ्नो खेतीपातीबाट ६ महिनाभन्दा कम खान पुग्ने संख्या ६६ प्रतिशत छ । खडेरी, असिना, अतिवृष्टि, बाढीपहिरो आए उक्त समुदाय अतिजोखिममा रहने गरेको छ । वर्षदिने चक्रअनुसार चेपाङ समुदायको फागुनदेखि जेठसम्म खानका लागि कठिन समय हो । एक तिहाइभन्दा बढी चेपाङको खाना जंगलमा आधारित छ । सामुदायिक वन अवधारणाले वन संरक्षणमा मद्धत पुगे पनि चेपाङ समुदाय भने परम्पराबाट विमुख हुनुपरेको छ । सामुदायिक वन र कबुलियत वनले खोरिया ओगटेपछि चेपाङहरु विस्थापित हुनुपरेको छ । राष्ट्रिय जनगणनाअनुसार २६ जिल्लामा चेपाङको बसोबास रहेको तथ्यांकले देखाउँछ ।
केही प्रतिक्रिया छ कि ?
